सप्तरीमा चोरीका घटना बढ्दै

राजविराज । सप्तरीको बोदे बरसाइन नगरपालिकामा लगातार चोरीको घटना बढ्दै गइरहेको छ । वडा कार्यालयमा चोरी भएको दुई दिन नबित्दै शनिवार फेरी दुई पसलमा चोरी भएको हो ।
‘लकडाउन’ कार्यान्वय गराउन सर्वसाधारणहरु घरभित्रै रहँदै आएको मौका छोपेर केही व्यक्तिले बोदे बरसाइन नगरपलिकाकै वडा नम्वर –५ को बरसाईन बजारमा रहेको कपडा र किराना पसलको ताल्चा फुटाएर चोरी गरेका छन् ।
हुलाकी सडकको छेउमै रहेको मुस्कान कलेक्शन र रुस्ता किराना पसलमा शुक्रबार राती ९ः०० बजे तिर चोरी भएको इलाका प्रहरी कार्यालय बोदे बरसाईनले जनाएको छ ।
कपडा पसल सञ्चालक अनिस अन्सारीले करिब पाँच लाख बराबरको कपडा चोरी भएको जानकारी दिनुभयो ।
यस्तै रुस्तम किराना पसलमा २० हजार मुल्य बराबरको सामानहरु चोरी भएको प्रहरीले जनाएको छ ।
बुधबार वडा नम्बर –३ को कार्यालयबाट राजस्वतर्फ उठाइएको १८ हजार रुपैयाँ, १–१ थान कम्प्युटर र पंखा तथा एक थान इन्टरनेट चलाउने रोटर चोरी भएको वडा अध्यक्ष अनोजकुमार यादवले जानकारी दिनुभयो ।
वडा कार्यालयसँगै जोडिएको स्वास्थ्य चौकी सारस्वर र अतिरिक्त हुलाक कार्यालयमा समेत चोरी भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्