‘लक डाउन’ पछि सुनसान दोलखा

दोलखा । कोरोना भाईरस संक्रमणको जोखिम कम गर्न सरकारले देशलाई लक डाउन गरेपछि दोलखा पनि सुनसान बनेको छ । दोलखा सदरमुकाम चरिकोट, जिरी, मैनापोखरी, दोलखा, सिंगटी लगायतका बजार क्षेत्र पूर्णत बन्द भएको छ ।
लक डाउन गर्ने सरकारको निर्णय अघिनै सोमवार दिउँसो जिल्ला विपद् व्यवस्थापन समिति दोलखाको बैठकले मंगलवार विहान देखि जिल्लालाई लक डाउन गर्ने निर्णय गरेकोले पनि बजार क्षेत्र पूर्णत बन्द भएका हुन् । मंगलवार जिल्लाको मुख्य बजारहरुमा फाट्टफुट्ट मानिसहरु हिडडुल गरेका छन् भने अत्यावसेक सवारी साधन र एम्बुलेन्सहरु मात्र सञ्चालनमा आएका छन् । बजार क्षेत्रमा रहेका अत्यावसेक खाद्यान्न लगायतका सामग्री भएको पसलहरु भने विहान केहि समय खुला गरिएको प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका संयोजक भीमकान्त शर्मा पौडेलले जानकारी दिनु भयो ।

सोमवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले दैनिक उपभोग्य सामान, राहत उद्दार कार्यमा संलग्न यातायात, खाद्यान्न, किनारा, औषधि, पानी, पेट्रोल पम्प, तरकारी पसल, दुध डेरी, होटल बाहेक अन्य पसल, व्यवसाय, उद्योग बन्द गर्ने, दोलखा जिल्ला प्रवेश गर्ने रामेछापसंग को सिमाना किर्नेटार र सिन्धुपाल्चोकसंग को खरीढुङ्गा नाकामा प्रहरी र स्वास्थ्यकर्मी सहितको टिमले कडाईका साथ चेकजाँचको व्यवस्था मिलाई अभिलेख तयार गरी अत्यावसेक मानिसलाई मात्र प्रवेश गर्न दिने, सर्वसाधारण नागरिकलाई अत्यावसेक उपचार बाहेक अन्य कामको लागि घर बाहिर ननिस्कन अनुरोध गर्ने र काम बाहेक सडकमा घुमफिर गर्ने, चोक बजारमा भिडभाड गरेमा प्रहरीले अनुगमन र चेकजाँच गरी नियन्त्रणमा लिने निर्णय गरेको थियो ।
सोमवार साँझनै सरकारले देशलाई पुर्णत लक डाउन गर्ने निर्णय गरेपछि दोलखामा पनि सम्पूर्ण व्यवसाय र यातायात सञ्चालनमा रोक लगाईएको स्थानिय प्रशासनले जनाएको छ । लक डाउनको समय अनावश्यक चहलपहल हुन नदिन मुख्य बजार क्षेत्रमा नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीले गस्ती गरिरहेको जनाईएको छ । हामी तपाईको सुरक्षार्थ बाहिर छौ, तपाई हाम्रो सुरक्षार्थ भित्रै बस्नुस भन्ने नाराका साथ प्रहरीले बजार क्षेत्रमा नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीले गस्ति गरिरहेको प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताउनु भयो । मंगलवार लक डाउनको आदेश उलंघन गर्ने करिब २२ वटा मोटरसाईकल र केहि साना सवारी साधनलाई नियन्त्रणमा लिईएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनु भयो ।
पूर्व तयारी
दोलखामा कोरोना भाईरसको संभावित जोखिमलाई मध्यनजर गर्दै सदरमुकाम चरिकोट, जिरी, दोलखाका अस्पतालहरुमा २२ वेड आईसोलेसनको लागि तयार गरिएको र स्वास्थ्यकर्मीहरुलाई पनि उपलब्ध आवश्यक उपकरण सहित तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । न्याय हेल्थ नेपालको व्यवसथापनमा सञ्चालन भएको सदरमुकाम चरिकोटको प्रस्तावित चरिकोट अस्पतालमा रुघा, खोकी र ज्वरोको केहि विरामी आएको भएपनि कोरोना भाईरसको शङ्कास्पद विरामी भने नभएको न्याय हेल्थ नेपालका सवास्थ्य सेवा निर्देशक डाक्टर विनोद दंगालले बताउनु भयो । अस्पतालमा शङ्कास्पद विरामी आए परिक्षणका र आईसोलेसनको लागि तयारी रहेको डाक्टर दंगालले बताउनु भयो ।






प्रतिक्रिया राख्नुहोस्