चितवनमा ११ दिनदेखि हात्ती आतंक (फोटो फिचर)
चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. १ लंकालाईनमा जंगली हात्तीको आतंक फैलिएको छ ।

विगत ११ दिनदेखि लगातार हात्ती गाउँमा प्रवेश गरी खेतीबाली खाइदिने र घरहरु भत्काइदिने गर्न थालेपछि गाउँलेहरु अहिले आतंकित बनेका छन् ।

शनिवार राती मात्रै पनि हात्तीले स्थानीयको केरा खेती, मकै खेतीहरु खाइदिएको चतुर्मुखी सामुदायिक वनका अध्यक्ष गंगाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
हरेक राती सामुदायिक वनबाट हात्ती आई गाउँ प्रवेश गर्नाले गाउँलेहरुले राम्रोसँग सुत्न पनि नपाएको उहाँले बताउनुभयो । हात्तीले गाउँलेहरुले लगाएको खेतीबाली नष्ट गरिदिँदा लाखौँको नोक्सानी समेत भएको अध्यक्ष सापकोटाले बताउनुभयो ।

जंगली हात्तीले स्थानीय गोविन्द प्रसाद दाहालको १ बिगाहा केराखेती, चुनक बहादुर श्रेष्ठको १ कठ्ठा मकैखेती, भगवती श्रेष्ठको २ कठ्ठाको मकैबाली, बुद्धिमान मगरको ४ कठ्ठाको मकैबाली, गोपाल लोप्चनको ३ कठ्ठा करेलाखेती, ज्ञान बहादुर लोप्चनको २ कठ्ठा मकैबाली, लक्ष्मी श्रेष्ठको १ कठ्ठाको गोलभेडा खेती, राजु राईको २ कठ्ठाको मकैखेती, सञ्जय लोप्चनको १ कठ्ठाको केराखेती क्षति गरेको छ ।

४ दिन अगाडि स्थानीय ज्ञानु अधिकारी (भण्डारी) को घुम्तीमा रहेको किराना पसल हात्तीले फुटाई सामान खाइदिएको वडा अध्यक्ष लिला बहादुर गुरुङले जानकारी दिनुभयो ।

हात्तीका कारण स्थानीयहरुको करिव १० लाख रुपैया बराबरको क्षति भइसकेको वडा अध्यक्ष गुरुङले बताउनुभयो । लंकालाईन क्षेत्र ताजा तरकारी उत्पादनको लागि पकेट क्षेत्रमानिएकोे गाउँ हो ।

सांसदद्वारा क्षतिको अवलोकन
यसैबीच बाग्मती प्रदेशका सांसद एवम् शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले जंगली हात्तीको कारण भएको क्षतिको अवलोकन गर्नुभएको छ ।

सांसद दाहालले क्षतिको अवलोकन गर्दै स्थानीयलाई परेको समस्याको तत्काल जिल्ला प्रशासन कार्यालय चितवनमा जानकारी गराउनुभएको थियो । उहाँले स्थानीयलाई परेको समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई आग्रह गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्