स्वास्थ्य सहायता कक्ष, सङ्क्रमणबारे सचेतना
दाङ। कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखी दाङमा पनि उच्च सतर्कता अपनाइएको छ । यहाँका सरकारी तथा निजी स्वास्थ्य संस्था तथा स्थानीय तहले कोरोना सङ्क्रमणबारे सचेतना दिइराखेका छन् । तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रर्वद्धन शाखाले स्थापना गरेको स्वास्थ्य सहायता कक्षमा आजसम्म नौ हजार ८७४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । उक्त सङ्ख्यामा स्वास्थ्य परीक्षण गर्दा अहिलेसम्म एक जना पनि शङ्कास्पद कुनै पनि व्यक्ति नभेटिएको जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यालयले गत फागुन ३० गतेदेखि राप्ती राजमार्गअन्तर्गत तुलसीपुर अमेलिया सडक खण्डको दमार गाउँ र टरिगाउँ विमानस्थलमा स्वास्थ्य सहायता कक्ष स्थापना गरी यात्रुलाई जाँच गर्दै आइएको छ । त्यस्तै स्वास्थ्य सहायता कक्षमा ंसङ्क्रमित भेटिएमा तुरुन्तै उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आइसोलेसन वार्ड पनि स्थापना गरिएको छ । हालसम्म कुनै पनि व्यक्ति सङ्क्रमित नभेटिएको अस्पतालका मेसु प्रताप पोख्रेलले जानकारी दिनुभयो ।
उहाँले कोरोनाका सङ्क्रमित त भेटिएका छैनन् तर पनि सबैले सावधानिक भने अपनाउनुपर्ने बताउनुभयो । त्यस्तै जनस्वास्थ्य कार्यालयले भारतसँग सीमा जोडिएको कोेइलाबास नाका र वनगाउँको भुमहिमा पनि कोभिड–१९ को स्क्रिनिङ जाँच गरिरहेको छ । त्यस्तै तुलसीपुरमा रहेको राप्ती केयर अस्पतालले पनि आजदेखि अस्पतालमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ ।
कोरोनाको सतर्कताका लागि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा आउने बिरामी तथा बिरामीसँगै आउने आफन्तलाई जाँच गर्न उक्त स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको अस्पतालका निर्देशक जीवन भण्डारीले जानकारी दिनुभयो । त्यस्तै घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि कोरोना व्यवस्थापनका लागि समिति गठन गरेको छ ।
प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर सङ्गीता भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको हो । प्रतिष्ठानले कोरोना सम्बन्धमा विभिन्न माध्यमबाट जनचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै ज्वरो तथा रुघाखोकीका बिरामीका लागि छुट्टै क्लिनिकको व्यवस्था गरिएको छ । सो अस्पतालमा ज्वरो धेरै दिनसम्म आएपछि सञ्चो नभएका एक जना किशोर उपचारका लागि आएकालाई सो अस्पतालले आइसोलेसनमा राखेर उपचार गरिरहेको अस्पताल प्रशासनले जनाएको छ । घोराही निवासी ती युवक केही दिनअघि मात्र भारतबाट घर आएका थिए ।
राप्ती आँखा अस्पताल रक्षाचौर र लमहीमा रहेको आँखा अस्पतालले पनि अस्पतालमा आउने बिरामी तथा सर्वसाधारणलाई लक्षित गरी कोरोना स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ । त्यस्तै लमही नगरपालिकाले वडा प्रहरी कार्यालय लमहीको समन्वयमा इलाका प्रहरी कार्यालय अमेलियमा रहेका सुरक्षाकर्मीलाई कोरोना भाइरससम्बन्धी एकदिने अभिमुखीकरण दिएको छ । उपप्रमुख देवीका बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रममा नोभेल कोरोना भाइरसबाट कसरी बच्ने र अरुलाई कसरी बचाउने, साबुन पानीले हात धुनेलगायतका विषयमा सचेतना दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्