मंगलसेन नगरपालिकाले बसपार्क क्षेत्रमा हेल्थ डेस्क स्थापना गर्ने

अछाम । मंगलसेन नगरपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना (कोभिड– १९) भाईरसको सम्भावित जोखिमलाई न्यूनिकरण गर्न सदरमुकाम मंगलसैनमा रहेको बसपार्क क्षेत्रमा हेल्थ डेस्क स्थापना गर्ने भएको छ ।
महामारीलाई फैलिन नदिन तथा भाईरसको संक्रमण रोकथाम गर्नका लागि अपनाउनु पर्ने सबै बिधि प्रक्रिया अवलम्वन गर्ने र उच्च सर्तकता अपनाउने निर्णय गरिएको मंगलसैन नगर प्रमुख पदम बोहराले बताउनुभयो ।
जिल्ला बाहिरबाट आउनेहरुलाई मध्येनजर गर्दै मंगलसेन बसपार्कमा हेल्थ डेक्स स्थापना गर्ने, अन्य बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, प्रचारप्रसारमा जोड दिईने, नेपाल सरकारले गरेका सबै निर्णयको पालना गर्ने, वडानम्वर १० जुपुमा लाग्ने दशैं मेलालाई व्यवस्थापन गर्न पहल गर्ने लगायतका निर्णय गरिएको नगरप्रमुख बोहराले बताउनुभयो ।
बिशेष गरेर रोजगारीको शिलशिलामा भारतमा रहेका व्यक्तिहरु घर फर्कदा उनीहरुको स्वास्थ्य अवस्था, सचेतनामूलक जानकारी तथा शंकास्पद व्यक्तिलाई अस्पतालसम्म र्पुयाउने उद्देश्यले हेल्थ डेस्क स्थापना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
यस्तै सबै वडाको सार्वजनिक स्थल र वडा तथा स्वास्थ्य कार्यालयमा कम्तिमा तीन तीन वटा फ्लेक्स प्रिन्ट टाँस गर्ने, जनचेतनामुलक पोष्टर छपाई गरि बितरण गर्ने निर्णय नगरपालिकाले गरेको छ ।
यसअघि जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाले पनि जयगढमा हेल्थ डेस्क स्थापना गरेको थियो ।
अछामका तीन स्थानमा चार दिन पहिले नै हेल्थ डेस्क स्थापना गरिसकेको छ ।
मंगलसैन नगरपालिका सहित जिल्लामा पाँच वटा स्थानमा हेल्थ डेस्क स्थापना गरिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्