तपाईँ सुन्दै हुनुहुन्छः

अझै आठ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित

डोटी-यहाँका नौ महिनादेखि पाँच वर्षसम्मका करिव २४ हजार ५५० बालबालिकालाई दादुरा–रुवेला रोग विरुद्धको खोप लगाउन अभियान शुरु भएको छ । अभियान यही चैत ३० गतेसम्म सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख रमेश मलासीले पहिलो चरणमा बोगटान फुड्सिल, जोरायल, बडिकेदार र केआइसिंह गाउँपालिका अभियान सञ्चालन हुने जानकारी दिनुभयो । त्यस्तै चैत्र १६ गतेदेखि दोस्रो चरणअन्तर्गत दिपायल सिलगढी र शिखर नगरपालिका, पूर्वीचौकी, आदर्श र सायल गाउँपालिकामा अभियान सञ्चालन हुने जनाइएको छ ।

कूल ५११ खोप केन्द्र, १२६ स्वास्थ्यकर्मी र एक हजार २२ स्वयंसेवक परिचालन गरिएको छ । ढुक्कसाथ आफ्ना बालबालिकालाई खोप लगाउन उहाँले आग्रह गर्नुभयो ।

जिल्लामा आठ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित रहेका बताइएको छ । बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउनका सम्पूर्ण कर्मचारी आ–आफनो कार्यक्षेत्रमा खटिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो ।

त्यस्तै डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा दुई लाख ८४ हजार ७६२ बालबालिकालाई दादुरा–रुवेलाको खोप लगाइने भएको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ ।

उक्त अभियानमा नौ जिल्लामा कूल पाँच हजार २०० खोप केन्द्र र नौ हजार ३०० स्वयंसेवक परिचालन गरिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button