तपाईँ सुन्दै हुनुहुन्छः

सार्क सदस्य राष्ट्रका नेताहरू बीच भिडियो कन्फरेन्स

विश्वभरी महामारीको रूपमा फैलिरहेको नोवेल कोरोना भाईरस (कोभिड– १९) को संक्रमणबाट उत्पन्न समस्या विरूद्ध लड्न साझा रणनीति निर्माण गर्ने सम्बन्धमा आज दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रका नेताहरू बीच भिडियो कन्फरेन्स मार्फत छलफल भएको छ ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाईरस विरूद्ध लड्न सार्क राष्ट्रले साझा रणनीति निर्माण गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालमा कोरोना भाईरसको संक्रमण फैलन नदिन हालसम्म अपनाइएको सजगता र रणनीतिहरूबारे सार्क राष्ट्रका नेताहरूलाई जानकारी समेत दिनुभएको थियो ।

छलफलका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाल सार्क राष्ट्रले गम्भिर संकटको सामना गरिरहेका र भविष्यमा यसले कस्तो रूप लिने भन्ने विषयमा संयमता अपनाई सहमति र सहकार्यका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री मोदीले भारतको तर्फबाट कोरोना भाईरस विरूद्ध लड्न एक करोड अमेरिकी डलर बराबरको कोभिड –१९ आकस्मीक कोष स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले सार्क राष्ट्रका कुनैपनि देशले आकस्मिक अवस्थामा यस कोषबाट लाभ लिन सक्ने पनि बताउनुभयो ।

श्रीलङ्काका राष्ट्रपति गोताबाया राजापाक्षले कोरोना भाईरसको संक्रमणले सार्क क्षेत्रको स्वास्थ्य, शिक्षा र अर्थतन्त्र लगायतको क्षेत्रमा पार्ने प्रभाव विरूद्ध उचित कदम चाल्न सार्क मन्त्री स्तरीय कार्यदल बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

भुटानका प्रधानमन्त्री लोते छिरिङले कोरोना भाइरस विरुद्ध लड्न जुनसुकै समयमा पनि सार्क राष्ट्रलाई साथ दिन तयार रहेको बताउनु भयो ।

माल्दिभ्सका राष्ट्रिपति ईब्राहिम मोहम्मद सोलिहले कोरोनाको प्रभाव कम गर्न बृहत र दीर्घकालीन रणनीति आवश्यक रहेको बताउनुभयो ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सार्क राष्ट्रहरूमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन आगमी ६ महिना सम्म उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री डा. जफर मिर्जाले कोरोनाको संक्रमण बाट बच्न सार्क सचिवालयले सक्रिय भूमिका खेल्नुपर्ने र सार्क राष्ट्रका स्वास्थ्य मन्त्रीहरू बीच निरन्तर छलफल गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button