तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन क्षेत्रका योजनाहरुको छनौट दीर्घकालीन महत्वको हुनुपर्ने :मन्त्री भट्टराई

फाइल तस्बिर

काठमाडौँ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रका योजनाहरुको छनौट दीर्घकालीन महत्वको हुनुपर्ने बताउनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले पर्यटन पूर्वाधार र उपज विकासका लागि संघ, प्रदेश तथा स्थानीय सरकारबीचको साझेदारी बिषयक छलफलमा मन्त्री भट्टराईले तीनवटै तहका सरकारले साना–तिना योजनाहरुमा बजेट खर्च गर्ने र उपलब्धि पनि नदेखिने प्रणालीको अन्त्य गरेर दीर्घकालीन महत्वको योजना छनौट गर्नु पर्ने बताउनुभयो ।

उहाँले सबै प्रदेशको समान चाँसो पर्यटनका माध्यमबाट रोजगारीको सिर्जना, आर्थिक समृद्धि, लैंगिक समानता र समाजबादको आधार कसरी तय गर्न सकिन्छ भन्ने नै रहकाले पर्यटन विकासमा साझेदारी आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री भट्टराईले तीनवटै तहका सरकारले साझेदारीको अवधारणा तयार गरेर एकीकृत योजनाका साथ सबै प्रदेशमा थप गन्तव्यको बिकास गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले कुनै एक बर्षलाई भ्रमण बर्ष घोषण गरेर जानुभन्दा पनि २०२० देखि २०३० को दशकलाई हरेक बर्ष बिशेष बर्षका रुपमा लिएर अघि बढ्न सकिने बताउनुभयो ।

प्रदेश सरकार, महानगरपालिका, गाउपालिका र नगरपालिकाका प्रतिनिधि सहभागी रहेको छलफलमा पर्यटन महाशाखा प्रमुख घनश्याम उपाध्यायले संघ, प्रदेश र स्थानीय सरकार बीचको साझेदारीका लागि प्रस्तावित सहकार्यका क्षेत्रहरु र छलफलका विषय प्रस्तुत गर्नुभएको थियो ।

छलफलमा सातवटै प्रदेशका पर्यटन मन्त्रालयले आफ्ना प्रदेशस्तरीय योजना, साझेदारीका क्षेत्रहरु र अपेक्षित उपलब्धि प्रस्तुत गरेका थिए ।
छलफलका निष्कर्ष र सुझावलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले आगामी योजनामा समेट्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button