मध्यपहाडी लोकमार्ग १५ दिन बन्द हुँदै
पर्वत-मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा ट्रयाक खोल्न बम विस्फोट गरिने भएको छ । कुश्मा नगरपालिका– ८ फलामखानीमा रहेको बाघदुले भीरमा विस्फोट गर्न लागिएको हो । कडा चट्टान भएकोले बम विस्फोट गर्न थालिएको लोकमार्ग आयोजना कार्यालयका प्रमुख आशिष थापा मगरले जानकारी दिनुभयो ।
बम विस्फोट गराई ट्रयाक खोल्नुपर्ने भएकाले चैत १ गते देखि १५ गते सम्म सडकमा आवातजावत बन्द गर्न थालिएको छ । दिउँसो १२ः३० देखि ३ ः ३० सम्म सडक बन्द गर्ने निर्णय गरिएको हो ।
२४ किलोमिटर खण्ड मध्ये बाघदुले भीर र बेतनीको भीरमा ट्रयाक खोल्न बाँकि छ ।
कडा चट्टानका कारण बम बिस्फोट गराएर ट्रयाक खोल्न थालिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो । भीरमा ड्रिलिङ गर्न शुरु भैसकेको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको ५ किलोमिटर क्षेत्रमा कालोपत्र सकिएको छ । कुश्मा बजार र पातीचौरमा ४ लेन बिस्तार भैरहेको छ । अन्य खण्डमा कालोपत्रका लागि संरचना तयार भैसकेको छ ।
मध्यपहाडी लोकमार्गमा पर्ने पर्वत खण्ड स्तरउन्नतीको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ्ग खण्ड लाई नयाँ स्वरुपमा ढाल्ने गरि मर्मत सम्भार तीब्र पारिरहेको छ । लोकमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न चारवटा प्याकेज बनाएर काम भैरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारी अनुसार तीन वर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ ।
२०५० सालमा निर्माण सम्पन्न भएको सडकका् धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जाम समेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी संचालनमा समेत जोखिम थियो ।








प्रतिक्रिया राख्नुहोस्