तपाईँ सुन्दै हुनुहुन्छः

केन्द्रलाई ७ सय जनाको मिर्गौला प्रत्यारोपणमा सफलता

भक्तपुर-भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको ६ वर्षभित्र सात सय जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार अहिलेसम्म ६ सय ९३ जनाको सफल मर्गौला प्रत्यारोपण भएको छ। उहाँका अनुसार २०६९ माघदेखि हालसम्ममा ६ सय ९३ जनाको सफल मिगौला प्रत्यारोपण भएको हो।

केन्द्रले आर्थिक वर्ष २०७३÷७४ देखि मिर्गौला प्रत्यारोपणमा सत प्रतिशत सफलता प्राप्त गर्दै आएको छ ।यसबीचमा ११ जनामा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेकोमा सत प्रतिशत सफलता मिलेको बताउनुभयो ।

भक्तपुरस्थित केन्द्रले २०६९ माघदेखि मिर्गौला प्रत्यारोपण सुरु गरेको थियो। उक्त वर्ष १३ जनाको मात्रै मिर्गौला प्रत्यारोपण गरिएको केन्द्रको तथ्यांक छ ।त्यस्तै आर्थिक वर्ष २०७०÷७१ मा २७, २०७१÷७२ मा ४१, २०७२÷७३ मा एकसय एक, २०७३÷७४ मा एकसय ३२ र २०७४÷७५ मा एकसय ५३ जनाको मिर्गौला प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ। त्यस्तै गएको आर्थिक वर्षमा एकसय ७९ जनाको मिर्गौला प्रत्यारोपण गरिएको थियो।

चालू आर्थिक वर्षमा भने ४७ जनाको मिर्गौला प्रत्यारोपण गरिसकिएको कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिनुभयो । कार्यकारी निर्देशक डा. श्रेष्ठका अनुसार केन्द्रले हप्तामा तीन दिन मिर्गौला प्रत्यारोपण गर्दै आएको छ। जसअनुसार एकदिनमा बढीमा चार जनासम्मको मिर्गौला प्रत्यारोपण हुने गरेको छ ।
केन्द्रले मिर्गौलासँगै कलेजो प्रत्यारोपणसमेत गर्दै आएको छ।

केन्द्रमा पाँचजनामा कलेजो प्रत्यारोपण गरिसएिको छ ।नेपाललाई मानव शरीरको अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर बनाउने उदेश्यका साथ मिति २०६९ वैशाख ११ गते स्थापना भएको केन्द्रले नेपालमा पहिलोपटक २०७३ साल मंसिर २२ गते ऐतिहासिक कलेजो प्रत्यारोपण सेवा शुरू गरेको थियो ।

केन्द्रका निर्देशक डा. श्रेष्ठले कलेजो दान गर्नेहरुको संख्या न्युन हुँदा केन्द्रमा अपेक्षाकृत कलेजो प्रत्यारोपण गर्न नसकिएको बताउनुभयो ।केन्द्रले कम्तिमा महिनाको एउटा कलेजो प्रत्यारोपण गर्ने तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।हरेक वर्ष नेपालमा करिब १ हजार जनाभन्दा बढीको कलेजो फेल हुने अनुमान गरिएको छ। नेपालमा करिब २० लाख रुपियाँमा कलेजो प्रत्यारोपण हुने गर्दछ भने भारत तथा अन्य विकसित देशहरूमा कलेजो प्रत्यारोपण गर्दा करिब १ करोडदेखि डेढ करोडसम्म खर्च लाग्ने अनुमान छ ।

एक अध्ययनका अनुसारका नेपालमा करिब ८ लाख मानिसमा कलेजोसम्बन्धी केही न केही रोग लागेको देखिन्छ भने करिब १० हजार जनामा कलेजोसम्बन्धी गम्भीर रोग लाग्ने गरेको छ ।केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला तथा कलेजो प्रत्यारोपण पनि सफलता प्राप्त गरि सकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button