रोगले केरा नष्ट हुँदा बैतडीका किसानहरु चिन्तित

बैतडी । केरा पकेट क्षेत्रमै रोगले केरा नष्ट हुँदा बैतडीका किसानहरु चिन्तित बनेका छन् ।
रोगले केराका बोट सुक्न थालेपछि केराबाट जिविकोपार्जन गरिरहेका जिल्लाको दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न स्थानका किसानहरु मारमा परेका हुन् ।
दोगडाकेदार गाउँपालिकाको सौगाउ, धारिगाड, बिन्सेरी, ढुङ्गेपानी बजगाउँ, खम्तोला, भन्डारीगाड, पिपलकोट, खेती गाउँ, कपिन्ना, खीरेगाउँ लगायतका क्षेत्रमा केरामा रोग देखिएपछि किसानहरु समस्यामा परेका हुन् ।
केराबाटै बार्षिक ५० हजार बढी आम्दानी हुने भएपनि पछिल्लो दुई बर्ष यता केराका बोट सुक्दै गएपछि समस्या भएको किसान धनीदत्त भट्टले बताउनुभयो ।
घरखर्च चलाउन केराखेतीबाटै भईरहेको भएपनि पछिल्लो समयमा केराको बोट सुक्ने, केराका पात पहेँलो हुने लगायतका रोगले केराखेती नष्ट भएको उहाँले बताउनुभयो ।
केराखेतीका लागि पकेट क्षेत्र मानिएका यी गाउँहरुमा केराका बोटहरु सुक्दै गएका किसानहरुले बताएका छन् ।
केराको बारी सबै नष्ट हुँदै गएको किसान रामदत्त भट्टले बताउनुभयो । केराको बोट पहेँलो हुने, केरामा फल लाग्ने बित्तिकै बोट सुक्ने लगायतका रोगका कारण केराखेती नष्ट भएको उहाँले बताउनुभयो ।
केरामा लागेको रोगका बारेमा अहिले सम्म खासै पत्ता लाग्न नसकेको स्थानीय घनश्याम भट्टले जानकारी दिनुभयो ।
यस्तै दशरथचन्द नगरपालिकाको वडा नं ६ गाँजरी, फर्तोला, गरुडी, तितरागाउँ लगायतका क्षेत्रमा पनि केराखेती नष्ट भएको किसानहरुले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्