तपाईँ सुन्दै हुनुहुन्छः

सम्पदा पुनःनिर्माणले गति लिन सकेन

मेलम्ची । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, स्थानीय तहलगायत सम्बद्ध निकायले चाँसो नदिँदा गुम्बा तथा मन्दिरहरु अलपत्र परेका छन् ।

भूकम्पले ढालेका साँस्कृतिक तथा पुरातात्विक सम्पदामा सरकारी वेवास्ता हुँदा गुम्बा तथा मठ मन्दिर निर्माणले गति लिन सकेको छैन् । बजेट अभावमा निर्माण हुन नसकेका कारण जिल्लाका अधिकांश मन्दिर तथा गुम्बाहरु अझै टहरामै सिमित भएका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय (जिमाली)का अनुसार २०७२ को बिनाशकारी भूकम्पले जिल्लामा रहेका एक सय ९० गुम्बामा क्षति पुगेको थियो ।

ती मध्ये चालु आर्थिक वर्षमा पुनर्निर्माण प्राधिकरणले २८ वटा गुम्बा मर्मतका लागि अख्तियारी पठाएको छ । २८ गुम्बा मर्मतका लागि प्राधिकरणबाट चार करोड २३ लाख रुपैयाँ आएको हो ।

जिमालीसँग जिल्लामा भूकम्पबाट कति मन्दिरमा क्षति पुग्यो भन्ने तथ्यांक नै छैन् । ‘धेरै गुम्बाहरु पुनर्निर्माण गर्नुपर्ने छ, तर कार्यालयमा मर्मतका लागि मात्रै भनेर बजेट आएको छ,’ जिमालीका व्यवस्थापक लक्ष्मणकुमार सेठले भने, ‘एक सय ९० मा २८ वटा गुम्बा मर्मतका लागि बजेट प्राप्त भएको छ, यो निकै कमी हो ।’ उहाँले अघिल्लो आर्थिक बर्षमा गुम्बा मर्मतका लागि वर्षको अन्तिमतिर अख्तियारी आएकाले त्यो रकम फिर्ता भएको बताउनुभयो ।

अघिल्ले वर्ष साढे सात करोड रुपैयाँ ढिला आएकाले फिर्ता गएको हो । ‘यो वर्ष समयमै आएकाले काम सुरु भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘१० वटाका लागि सम्झौता भइसक्यो, अरु प्रक्रियामा छन् ।’ उहाँले स्थानीयस्तरमा उपभोक्ता समिति गठन गरेर प्रक्रिया अगाडि बढाइँदै गरेको जानकारी दिनुभयो । असारसम्म अख्तियारी आएको गुम्बाहरु मर्मत भइसक्ने उँहाको भनाई छ ।

गुम्बाहरुको क्षति अनुसार प्राविधिक स्टिमेट गरेर बर्गिकरण छुट्याइएको छ । भूकम्पबाट प्रभावित गुम्बा, विहार, स्तुपाहरुको संरक्षण जिर्णाेद्धार तथा पुनर्निर्माण सम्बन्धी कार्यविधि २०७५ले एकदेखि पाँचसम्मको बर्गिकरण गरेको छ ।

कार्यविधिले संरचना रहेको वरिपरिका क्षेत्र जसको मर्मत नगरे सम्पदामा जोखिम रहने संरचनाहरु ग्रेड एकमा राखेको छ ।

त्यस्तै सामान्य मर्मत गरि प्रयोगमा ल्याउन सकिनेलाई ग्रेड दुईमा, मर्मत पश्चात मात्रै पुनप्र्रयोगमा ल्याउन सकिनेलाई ग्रेड तीनमा राखिएको छ ।

सम्पदा क्षति भएको, प्रयोग गर्न नमिल्ने तथा भत्काएर पुनर्निर्माण गर्नुपर्नेहरु ग्रेड चारमा र पूर्ण क्षति भई भग्नावशेष मात्र बाँकी रहेको अवस्थामा पुनर्निर्माण गर्नुपर्ने संरचना ग्रेड पाँचमा पर्दछन् ।

अहिले मर्मतका लागि जिमालीले एक, दुई र तीन ग्रेडका गुम्बाहरु छनोट गरेको छ ।

ती गुम्बालाई क्षति र आवश्यकता हेरि तीन लाख देखि २५ लाख रुपैयाँसम्म छुट्याइएको जिमालीका व्यवस्थापक सेठ बताउँनुहुन्छ् । कुल चार करोड तेइस लाख बजेट मध्ये मर्मतका लागि पाँचपोखरी थाङपाल गाउँपालिकास्थित बरुवामा रहेको स्याङबा ङयुडने गुम्बाका लागि सबैभन्दा कम तीन लाख रकम छुट्याइएको छ । ‘यो सहित स्थानीयले २० प्रतिशत श्रमदान गुर्नहुन्छ,’ सेठले भन्नुभयो, ‘हामीले रंगरोगन, घेराबार, झयालढोका, चुहिने छाना, पर्खाल, शौचालय आदि हेर्छाैं ।’ उहाँले आगामी बर्षहरुमा थप गुम्बा निर्माण तथा मर्मत गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button