तपाईँ सुन्दै हुनुहुन्छः

चौकुनेमा आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो

सुर्खेत । आयुर्वेद प्रतिको बढ्दो विश्वासले निःशुल्क आयुर्वेद शिविरमा उत्साहपूर्ण सहभागिता बढ्दै गईरहेको छ ।

कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयले सर्वसाधारणको बढ्दो मागलाई ध्यानमा राखेर निःशुल्क आयुर्वेद शिविर गाउँ–गाउँमा पु¥याउन थालेपछि जनमानसको उल्लासपूर्ण सहभागिता बढ्दै गएको हो ।

आयुर्वेदिक औषधिप्रति ग्रामिण समुदायसँगै शहरी क्षेत्रका बासिन्दाको समेत आकर्षण बढ्दै गएको छ ।

आयुर्वेद औषधिले ढिलो रोग निको भएपनि सस्तो, भरपर्दो र दीर्घकालीन रुपमा स्वास्थ्यमा असर नगर्ने भएपछि सर्वसाधारण बिरामीको आकर्षण बढेको हो ।

प्रदेश आयुर्वेद औषधालयले शनिवार पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको गुटु स्वास्थ्य चौकीमा आयोजित निःशुल्क योग तथा विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविरमा सहभागिता जनाउने अधिकांस विरामीले सरकारको प्रशंसा गरेका छन् ।

निःशुल्क योग तथा शिविरको उद्घाटन गर्दे चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले प्रदेश आयुर्वेद औषधालय निरन्तर दोस्रो वर्षपनि गुटुका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदिएर जनतामा सकारामत्मक संदेश प्रवाह गरि दिएको बताउनुभयो । उहाँले जाडो मौषमको अन्त्यसँगै बसन्त ऋतुको आगमनाताका प्रायः जसो बिभिन्न मौसमी बिरामीको संख्या अलि बढी हुने भएकाले सही समयमा सही उपचार उपलब्ध गराउने प्रदेश सरकारसँगै आयुर्वेद औषधालयप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले गुटुमा जडिबुटी संकलन तथा प्रशोधन केन्द्रसँगै कम्तिमा २५ शैया आयुर्वेद चिकित्सालय खोल्ने बारे सहयोगी निकायसँग समन्वय भईरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार जैविक विविधताले भरीपूर्ण चौकुने पहाड आसपासका क्षेत्रमा पाईने दुर्लभ जडीबुटीहरुको वैज्ञानिक खोज, अनुसन्धान तथा उपयोग नहूँदा करोडौंको सम्पत्ति छाडा चौपायाको चरन बनेको छ ।

प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले चौकुने गाउँपालिकाको गुटुमा जडिबुटी संकलन तथा प्रशोधन केन्द्रसँगै आयुर्वेद चिकित्सालय खोल्न आफ्नो स्तरबाट भरपुर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले पश्चिम सुर्खेत जडिबुटीको भण्डारण रहेकाले सरकारीस्तरबाट यसको खोज, अनुसन्धान तथा बहुउपयोगको नीति अबलम्वन गर्न आवश्यक भईसकेको बताउनुभयो ।

पतंजली योग समिति सुर्खेतका अध्यक्ष शिवप्रसाद गौतमले आयुर्वेदसँगै योगलाई समेत जोडेर सँगसँगै विकास गरिनु पर्नेमा जोड दिनुभयो ।

शिविरमा आउने अधिकांशमा नशा तथा हाडजोर्नी, स्त्रीरोग, पायल्स, ग्यास्ट्रिक, दमखोकी, पिनास, जन्डिस र मुटुरोसम्बन्धीका रोगी रहेको प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँले शिविरमा ६ महिना उमेरदेखि ९८ वर्षसम्मका ७ सय ३० जना विरामीले सेवा लिएको बताउनुभयो ।

निःशुल्क शिविरमा नसर्ने रोग ठूलो स्वास्थ्य समस्याका रुपमा बढ्दै गएको पाइएको कविराज निरीक्षक श्रीराम आचार्यले बताउनुभयो । उहाँले पछिल्लो समय गाउँघरमा पनि नसर्ने रोग जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा देखा परेको जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button