तपाईँ सुन्दै हुनुहुन्छः

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मन्त्री अर्यालको शुभकामना

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले महिलालाई उत्पादनशिल कार्यमा सहभागी गराउदै आर्थिक रुपमा आत्मनिर्भर बनाउन जरुरी रहेको बताउनुभएको छ ।
अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै मन्त्री अर्यालले सामाजिक कुसंस्कारको अन्त्य र महिलामाथि भएका अत्याचारको अन्त्य गर्न महिलाको सशक्तिकरण अभियानलाई मुल मुद्दा बनाएर जान आवश्यक रहेको बताउनुभएको हो ।

अझैपनि समाजमा रहेका विद्यमान, कुसंस्कारका कारण अझै पनि हरेक वर्ष दर्जनौ महिलाले ज्यान गुमाइरहनुपरेको र सयौं महिलाहरु विभिन्न खाले हिंसाबाट प्रताडित भइरहेको बताउँदै यो अवस्थाको अन्त्यका लागि महिलाको सशक्तिकरण अभियानलाई मुल मुद्दा बनाएर जान आवश्यक रहेको मन्त्री अर्यालको भनाई छ ।

हेर्नुहोस् मन्त्री अर्यालको शुभकामना सन्देशको पूर्णपाठ

आज हामी ११० औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका छौं । ८ मार्च विश्वका महिलाको हक, अधिकार, स्वतन्त्रता र मुक्ति आन्दोलनको दिवसको रुपमा मनाउन आरम्भ गरिएको दिन हो । सन् १९०८ मा अमेरिकाको सिकागो सहरमा पहिलो पटक श्रमिक महिलाहरुको नेतृत्व गर्दै समाजवादी नेतृ क्लारा जेटकिनले अगुवाइ गरेर आरम्भ भएको यो दिवसनै अन्तराष्ट्रिय रुपमा महिला मुक्ति आन्दोलनको कोसेढुङ्गो थियो । त्यस पश्चात हरेक वर्ष ८ मार्चका दिनलाई संसारभरिका महिलाहरुले ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ का रुपमा मनाउदै आउने क्रम जारी छ । यस ऐतिहासिक दिनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा विभिन्न कालखण्डमा अगुवाइ गर्नुहुने सबै अग्रज प्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।

आजको दिनसम्म आइपुग्दा अन्तराष्ट्रिय रुपमै महिला मुक्ति आन्दोलनले थुप्रै उतार–चढावहरु पार गर्दै अगाडी बढेको छ । महिला अधिकारका सन्दर्भमा कतिपय मुलुकहरुले महिला समानताको विषयलाई आत्मसात गरेर अगाडी बढेका छन् त कतिपय मुलुकहरुले आंशिक रुपमा सहभागिताको सवाल उठाएका छन् भने कतिपय मुलुकहरु आज पनि महिला अधिकार, समानता र सहभागिताको सवालमा धेरै पछाडि छन् । हाम्रो देशको सन्दर्भमा महिला अधिकारको आन्दोलन विगत एक शताव्दी भन्दा पहिलेदेखि नै संगठित आन्दोलनको रुपमा अगाडी बढेको छ । राणा शासन कालमा समेत कुनै किसिमका दमनको पर्वाह नगरी सामाजिक कुसंस्कारको अन्त्य र महिलामाथि भएका अत्याचारको विरुद्धमा भोजपुरमा योगमायाको अगुवाइमा भएको सामाजिक आन्दोलनले महिला आन्दोलनलाई थप उचाइ दिएको थियो ।

यसरी राणा शासन विरुद्धको आन्दोलन, निरंकुश पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन, विभिन्न कालखण्डमा भएका किसान, मजदुर, र पेसागत आन्दोलनहरुमा प्रत्यक्ष र परोक्ष रुपमा नेपाली महिलाको सशक्त सहभागिता हुँदै आयो । जसको परिणाम प्रजातन्त्र प्राप्ति र गणतन्त्र स्थापनासम्मका महत्वपुर्ण आन्दोलनहरु ः २०४६ को जनआन्दोलन, सशस्त्र जनयुद्ध देखि २०६२–०६३ को आन्दोलनसम्म महिलाको त्यतिकै उल्लेख्य र अर्थपुर्ण सहभागिता रहदै आएको छ ।

यसकै फल स्वरुप राजनैतिक–सामाजिक क्षेत्रमा उल्लेख्य महिला सहभागिता भएको छ । स्थानीय तह, प्रदेश र संघीय संसदसम्म हेर्दा महिलाको उपस्थिति ४० प्रतिशत भन्दामाथि छ । यस उपस्थितिले एकातर्फ महिलाको पहिचान, क्षमता र आत्मविश्वास बढाएको छ भने अर्को तर्फ निर्णायक भूमिकामा महिलाको प्रत्यक्ष उपस्थिति पनि भएको छ ।

राज्यका सवै क्षेत्रमा एक तिहाई महिला सहभागितालाई अनिवार्य गराउने संवैधानिक व्यवस्थाले महिला समानताको सुनिश्चिततालाई निकट बनाएको छ । यो नेपाली महिला आन्दोलनको ठुलो उपलव्धी हो ।

प्राप्त राजनैतिक उपलव्धीको प्रभावकारी उपयोग गर्दै अब हामीले आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणको लागि सशक्त अभियान चलाउने बेला भएको छ । आज पनि आर्थिक, सामाजिक र साँस्कृतिक पक्षबाट महिलाको अवस्था पछाडि नै छ । समाजमा विद्यमान, कुसंस्कारका कारण अझै पनि हरेक वर्ष दर्जनौ महिलाले ज्यान गुमाइरहेका छन् भने सयौं महिलाहरु विभिन्न खाले हिंसाबाट प्रताडित भइनै रहेका छन् ।

त्यसैले अब यो अवस्थाको अन्त्यका लागि महिलाको सशक्तिकरण अभियानलाई मुल मुद्दा बनाएर जान आवश्यक छ । यसकालागि एकातर्फ सामाजिक सचेतनताको अभियानलाई सशक्त ढंगले अगाडि बढाउनु पर्छ भने अर्का तर्फ महिलालाई उत्पादनशिल कार्यमा सहभागी गराउदै आर्थिक रुपमा आत्मनिर्भर बनाउन जरुरी छ ।
अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउदै गर्दा सम्पुर्ण आमा, दिदी, बहिनीमा प्राप्त जिम्मेवारी कुशलतापुर्वक वहन गर्दै, आर्थिक सशक्तिकरण तर्फ उन्मुख भई आत्मनिर्भरताको दिशामा अगाडि बढौँ भन्ने शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button