तपाईँ सुन्दै हुनुहुन्छः

दोलखाको कालिञ्चोकमा भारी हिमपात (फोटोफिचर)

दोलखा । फागुनको अन्तिम साता शनिबार (आज) दोलखाको कालिञ्चोकमा भारी हिमपात भईरहेको छ । शनिबार बिहानदेखि भएको हिमपातले जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन् ।

३८४२ मीटरको उँचाईमा रहेको कालिञ्चोकमा यो बर्ष मंसिर अन्तिम साताबाट हिमपात सुरु भएकोमा त्यसयता हरेक साता हिमपात भईरहेको कालिञ्चोक कुरीका होटल व्यवसायी सोनाम शेर्पाले बताउनुभयो । शनिबार बिहानदेखि भारी हिमपात भएकोले कालिञ्चोक मन्दिर तथा कुरी आसपास दुई फिटभन्दा बढी हिउँ जमेको शेर्पाले बताउनुभयो ।

अहिले कालिञ्चोकमा ७÷८ सय पर्यटक हिउँसँग रमाई रहेको कुरीमा रहेको होटल सुनपातिका मेनेजर बिमल ओझाले बताउनुभयो । तर कोरोना भाईरसको हल्लाले अपेक्षाकृत पर्यटक भने नआएको ओझाको भनाई छ । हिमपात र बिदाको मौसममा अरु बेला ८÷१० हजार पर्यटक कालिञ्चोक पुग्ने गरेकोमा शनिबारबाट तीन दिन लगातार बिदा परेको र भारी हिमपात समेत भएपनि एक हजार पर्यटक पनि कालिञ्चोक नआएको ओझाको भनाई छ ।

कालिञ्चोकमा हिमपात नभएको बेलामा समेत बिदाको दिन २÷३ हजार पर्यटक पुग्ने गरेको र हिमपातको बेला बिदा पर्यो भने ८÷१० हजार पर्यटक पुग्ने गरेकोमा कोरोना भाईरसको हल्लापछि बिदाको बेलासमेत अत्यन्त न्युनमात्र पर्यटक पुग्ने गरेको होटल व्यवसायी शेर्पा बताउनुहुन्छ ।

कालिञ्चोकको कुरीमा झण्डै ६० वटा सुविधा सम्पन्न होटलहरु रहेका छन् । तीन हजार भन्दा बढी पर्यटक अट्ने क्षमता भएका होटलहरु कोरोना भाईरसको आतङ्कपछि अहिले सुनसान जस्तै भएको स्थानिय होटल व्यवसायीहरुको गुनासो छ ।

शनिवार (आज) बिहानैदेखि भारी हिमपात भएकोले सुरक्षाको कारण कालिञ्चोकमा सञ्चालन भएको केबलकार केहि समयको लागि बन्द भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताउनुभयो ।

यातायात भने सुचारुनै रहेको र हिमपातबाट हुनसक्ने समस्यालाई मध्यनजर गरेर कालिञ्चोकमा रहेको प्रहरी यूनिटलाई अर्लटमा राखिएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनुभयो ।

दोलखाको खरीढुङ्गा, शैलुङ, चेर्दुङ लगायतका उच्च पहाडी भेगमा समेत हिमपात भएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button