तपाईँ सुन्दै हुनुहुन्छः

गाई भैँसी किन्नेलाई २० हजार अनुदान

पर्वत । पर्वतको बिहादी गाउँपालिकाले उन्नत जातको गाईभैँसी पालन लाई प्रोत्साहन गर्ने कार्यक्रम शुरु गरेको छ । गाउँपालिकाले उन्नत गाई भैँसी किन्ने किसानलाई प्रति पशु २० हजार रुपैयाँ अनुदान दिने कार्यक्रम ल्याएको हो । पशुपालनमा किसानहरुको ध्यान आकर्षित गर्न अनुदान दिने कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले बताउनुभयो ।

‘बढ्दो बसाईसराईले गाउँ रित्तिँदै गएको छ । अधिकाँश यूवा गाउँमा भेटिन्नन । प्राय यूवा विदेश पलायन भैरहेका छन् । स्थानीय स्तरमा रोजगारीका कुनै संभवना नभएको हुनाले पशुपालनलाई व्यवसायिक बनाउन सके गाउँ छोडेका फर्किने अपेक्षा सहित किसानलाई पशुपालनमा आकर्षित गर्न थालिएको’ अध्यक्ष भुसालले बताउनुभयो । भुसालका अनुसार दुध उत्पादन बढाउने र गाउँ गाउँमा संकलन केन्द्र बनाउने कार्यक्रम रहेको छ ।

दुध संकलन केन्द्र स्थापना गर्न चाहने सहकारी र फर्मलाई ७० प्रतिशत अनुदान दिने गाउँपालिकाको योजना रहेको छ । पशुपालन र कृषिमा विहादी गाउँपालिका राम्रो संभावना रहेको क्षेत्र हो । गाउँपालिकामा प्रसस्त चरण क्षेत्र, भुईघाँस र डालेघाँस लगाउने क्षेत्र पनि प्रर्याप्त छ । गाउँपालिकाले पशुपालनमा सहयोग गर्न घाँस बिस्तार गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ । बजारीकरणका लागि अहिले पक्कि सडक बनाउन थालिएको छ ।

पशुपालन गर्ने किसानको राम्रो भविष्य देखेरै गाउँपालिकाले कृषि र पशुपालनलाई जोड दिएको प्रमुख प्रसासकिय अधिकृत ऋषीराम भुसालले बताए । कृषकलाई ५० प्रतिशत अनुदानमा टनेल, मिनी पावर टिलर हलो, भकारो सुधारमा पनि सहयोग गर्न थालेको पन्थीले जानकारी दिए । पशुपालन र कृषि क्षेत्रमा चालु वर्ष विहादी गाउँपालिकाले १ करोड भन्दा बढि बजेट बिनियोजन गरेको छ । विहादीमा प्रदेश सरकार मार्फत चालु वर्ष नै मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम पनि शुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button