तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार सम्वन्धी विधेयकहरू आवश्यकता अनुसार संशोधन हुन्छ  : मन्त्री खतिवडा

काठमाडौं।  सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले संसदमा विचाराधिन रहेका सञ्चार सम्बन्धी विधेयकहरूमा आवश्यकता अनुसार संशोधन हुने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघको प्रतिनिधी मण्डलसँग आज सिंहदरबारमा भएको भेटघाटका अवसरमा मन्त्री खतिवडाले सरोकारवाला सबै पक्षसँग आवश्यक छलफल र परामर्शका आधारमा विधेयकहरू संशोधन गर्न सरकार तयार रहेको बताउनुभयो ।
मन्त्री खतिवडाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने उद्देश्यले नभई व्यवस्थित गर्ने उद्देश्यले सरकारले नयाँ कानूनहरू निर्माण गर्न लागेको समेत प्रष्ट पार्नुभयो ।
सरकारले सुचानको हकलाई देशमा सुशासन कायम गरी विकास निर्माणका कामलाई गति दिने बलियो औजारका रूपमा प्रयोग गर्न चाहेको उल्लेख गर्नुहुँदै मन्त्री खतिवडाले प्रेस तथा सञ्चार क्षेत्रले त्यसमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेससंग सरोकार राख्ने सञ्चार तथा मन्त्रालय अन्तर्गतका निकायहरूको पुनः संरचना गरी पत्र–पत्रिकाको दर्ता, प्रेस पास, लोककल्याणकारी विज्ञापन लगायतका सुविधाहरू प्रदेश तथा स्थानीय सरकारबाट नै पाउने व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा महासंघले मन्त्री खतिवडा समक्ष प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्ने, राष्ट्रिय आम सञ्चार नीति २०७३ कार्यान्वयन हुनुपर्ने, श्रमजिवी पत्रकारको न्यूनतम पारिश्रमिक बृद्धि गर्नुपर्ने, श्रमजीवि पत्रकारलाई बिमा लगायतका सुविधाहरू उपलब्ध गराउनुपर्ने लगायतका मागहरू समेटिएको १० बुँदे ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button