न्यू डायमण्ड सेमीफाइनलमा प्रवेश
नेपालगञ्ज । छैठौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।
नेपालगञ्ज रंगशालाको कभर्डहलमा सोमबार भएको खेलमा नेपालगञ्जलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड सेमीफाइनलमा प्रवेश गरेको हो । न्यू डायमण्डले नेपालगञ्जमाथि २५–९, २५–१३ र २५–११ को सेटमा जित निकाल्यो ।
यस्तै सोमबार बिहान तय भएको खेलमा भने एपिएफले भारतीय टिमबाट वाक ओभर पाएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि दर्ता गराइएको नाम फिर्ता लिँदै भारतीय टिम नआएपछि साविक विजेताले वाक ओभर पाएको हो ।
भारतीय टिमबाट वाक ओभर पाएसँगै समूह ‘ए’ बाट एपिएफ र त्रिभुवन आर्मी क्लबले सेमीफाइनलमा स्थान बनाएका छन् भने समूह ‘बी’ बाट नेपाल पुलिस क्लब र न्यू डायमण्ड सेमीफाइनल प्रवेश गरेका हुन् ।
मंगलबार पुलिस र आर्मी तथा एपिएफ र न्यू डायमण्डबीच सेमीफाइनल खेल हुने बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो ।
यसअघि २२ गते फाइनल खेल हुने भनिएपनि कम टिम सहभागी भएका कारण २१ गते नै फाइनल खेल हुने ठकुरीले बताउनुभयो ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तृतीय हुने टिमले ५० हजार रुपैयाँ पाउनेछन् । यसैगरी विभिन्न विधागत उत्कृष्ट खेलाडी नगदसहित सम्मानित हुने आयोजक बाँके जिल्ला भलिबल संघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्