घर फर्किए ७ स्वास्थ्यकर्मी सहित १ सय ७५ विद्यार्थी
भक्तपुर । चीनको वुहानबाट ल्याई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना सहित उनीहरुको स्वास्थ्य हेरचाहमा खटिएको ७ स्वास्थ्यकर्मी आज घर फर्किएका छन् ।
राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा रिपोर्टमा कुनै संक्रमण नदेखिएपछि सरकारले उनीहरुलाई १६ दिनपछि घर पठाइएको हो । कोरोना संक्रमण नभएको पुष्टि भए पछि उनीहरु घर फर्किएका हुन् ।
उनीहरुलाई खरीपाटीमा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्यराज्यमन्त्री नवराज रावतले बिदाई गर्नुभयो ।
कार्यक्रममा बोल्दै राज्यमन्त्री रावतले क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई सकुशल घर फर्कन सहयोग गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी लगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले हाम्रो मनोविज्ञानका कारणले समाजमा भ्रम फैलिएको भए पनि यो समस्यालाई सहजै हल गर्न सकिएको उल्लेख गर्नुभयो । राज्यमन्त्री रावतले घर फर्किएका सबैको दिर्घायुको कामना गर्दै सुखद भविष्यको कामना गर्नुभयो । उहाँले सबैलाई स्वास्थ्य सचेतना अपनाउन समेत आग्रह गर्नुभयो ।
यहाँ रहेका सबैलाई विदाई गरि घर फर्काईएको सुरक्षाको नेतृत्व गरिरहेको नेपाली सेनाको बीरदल गणका गणपति कर्णेल शिव पौडेलले जानकारी दिनुभयो ।
स्वास्थ्य परीक्षणको रिपोर्ट नेगेटिभ आएको खबर सुने पछि क्वारेन्टाइनमा बसेकाहरुले ताली बजाएर खुसी साटेका थिए ।
चीनको वुहानमा कोरोना संक्रमण फैलिएपछि सरकारले त्यहाँ रहेका १७५ जनालाई गत फागुन ५ गते उद्दार गरि ल्याईएको थियो । उनीहरुलाई भक्तपुर, खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।
नेपाल ल्याए लगतै गरिएको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो । अहिले पनि नेगेटिभ रिपोर्ट आएपछि क्वारेन्टाइनमा बसेका सबै जना अब आआफ्नो घर पर्किएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उनीहरुको रिपोर्टमा कोरोना नदेखिएकाले घर फर्काईएको बताउनुभयो ।
शनिबार उनीहरुको नाक र घाँटीको स्वाब नमूना संकलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि लगिएको थियो ।
यसअघि यही फागुन ४ गते नै उनीहरुको नाक र घाँटीको स्वाब नमूना संकलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो भने दोश्रो पटक क्वारेन्टाइन बसेको १४ औ दिनमा हिजो स्वाब नमूना संकलन गरिएको थियो ।
नेपाली विद्यार्थीलाई उद्दार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइनको बसाई पुरा गरी आईतबार घर फर्किएका थिए ।








प्रतिक्रिया राख्नुहोस्