तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य शिविरमा सात सय जना लाभान्वित

भोजपुर । दुर्गम पहाडी जिल्ला भोजपुरको पश्चिममा रहेको टेम्केमैयुङ गाउँपालिकामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा सात सयले उपचार पाएका छन् ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्वर ८ गोगनेमा आइतवार बिराटनगरमा रहेको नोवेल मेडिकल कलेजको प्राबिधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

टेम्केमैयुङ गाउँपालिकाको गोगने वडा कार्यालयको स्थानीय आयोजनामा भएको स्वस्थ्य शिविरमा सात सय जनाले स्वास्थ्य सेवा पाएका छन् । शिविरमा चार सय १३ जना महिला र दुई सय ८७ जना पुरुषले बिभिन्न स्वास्थ्य सेवा लिएका हुन् ।

नोवेल मेडिकल कलेज बिराटनगरका जनसम्पर्क अधिकृत नारायण दाहालले शिविरमा २३ जना डाक्टरहरुद्वारा फिजिसियन, स्त्रीरोग, बालरोग, छाला रोग, मानसिक रोग, हाडजोर्नी तथा नशा रोग, शल्यक्रिया, न्युरो सर्जरी, दन्त रोगसँगै नाक कान घाँटीको परीक्षण लगायतका सेवा प्रदान गरिएको बताउनुभयो ।

आर्थिक अवस्था र सुबिधा सम्पन्न ठाउँमा उपचारका लागि जान नसक्ने स्थानीयस्तरका नागरिकलाई आफ्नै ठाउँमा सेवा दिने उद्धेश्यले शिविर सञ्चालन गरिएको ८ नम्वर वडा कार्यालय गोगनेले जनाएको छ ।

आफनै आँगनमा स्वास्थ्य उपचारका गर्न पाएकोमा स्थानीयहरु समेत खुशी देखिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button