तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस: कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघ्यो

काठमाडौँ- कोरोनाभाइरस सङ्क्रमणका कारण चीनमा थप ४२ जनाको ज्यान गएपछि विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३,००० नाघेको छ।कोभिड-१९ का मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी मानिस चीनको हुवे प्रान्तका हुन्। उक्त भाइरस गत डिसेम्बर महिना त्यहाँबाट फैलिएन थालेको थियो।

बीबीसीका अनुसार चीनबाहेक अन्य १० देशमा पनि कोरोनाभाइरस सङ्क्रमणका कारण मानिसहरूको मृत्यु भएको छ। इरानमा अहिलेसम्म ५० जनाको मृत्यु भएको पुष्टि भएको छ। इटलीमा पनि ३० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ।

विश्वभरि झन्डै ९०,००० जनामा सङ्क्रमण भएको पुष्टि भएको छ। अहिले चीनबाहिर उक्त भाइरस तीव्र गतिमा फैलिरहेको छ। तर सङ्क्रमण भएका अधिकांश मानिसमा सामान्य लक्षण देखिएको विश्व स्वास्थ्य सङ्गठनले आइतवार बताएको छ । कोरोनाभाइरस सङ्क्रमण भएका दुईदेखि पाँच प्रतिशत बिरामीको मृत्यु हुन सक्ने उसले जनाएको छ।

मौसमी रुघाखोकीको औसत मृत्युदर ०.१ प्रतिशत हुन्छ र भाइरस अतिसङ्क्रामक हुन्छ। त्यसबाट प्रतिवर्ष चार लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ।

सार्स र मेर्सजस्ता कोरोनाभाइरस परिवारका अन्य विषाणुका कारण हुने मृत्युको दर कोभिड-१९ भन्दा धेरै छ।

अहिले चीनमा सङ्क्रमणको दर घटेको भए पनि अन्यत्र ह्वात्तै बढेको छ। इटलीमा ४८ घण्टामा सङ्क्रमित मानिसको दर दोबर भएको त्यहाँको स्वास्थ्यसम्बन्धी निकायले आइतवार बताएको छ। त्यहाँ कम्तीमा ३४ जनाको मृत्यु तथा झन्डै १७०० जनामा सङ्क्रमण भएको पुष्टि भएको छ।

यूकेमा ३६ जनामा सङ्क्रमण भएको पुष्टि भएपछि प्रधानमन्त्री बोरिस जोनसनले सोमवार आपत्कालीन बैठक बोलाएका छन्। चीनबाहिर सर्वाधिक सङ्क्रमण देखिएको दक्षिण कोरियामा थप ४७६ जना सङ्क्रमित भेटिएका छन्।

त्यहाँ ४,२१२ मा सङ्क्रमण भएको सरकारी तथ्याङ्क छ। तीमध्ये ३,०८१ जना डेगु सहरका बासिन्दा हुन्। डेगुमा सङ्क्रमण भएका ७३ प्रतिशत मानिहरू एउटा गिर्जाघरसँग सम्बन्धित छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button