ला लिगा : बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सोमबार राति भएको दोस्रो ‘एल क्लासिको’ खेलमा क्याटलान क्लब बार्सिलोनालाई पराजित गर्दै रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ । खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
यो हारसँगै बार्सिलोना रियल मड्रिड भन्दा १ अंकले पछि पारेको छ । रियल मड्रिडले २६ खेलबाट ५७ अंक जाेडेकाे छ भने समान खेल खेलेको बार्सिलोना ५६ अंकसहित दोस्रो स्थानमा छ ।
गत डिसेम्वरमा बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा भएको पहिलो ‘एल क्लासिको’ खेलमा बार्सिलोना र रियल म्याड्रिड गोलरहित बराबरी खेलेका थिए ।
आफ्नै घरेलु मैदान सान्टियागो बर्नबेउमा रियल म्याड्रिडलाई सानदार जित दिलाउनको लागि युवा ब्राजिली फरवार्ड भिनिसियस जुनियर र मारियानो डियाजले गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको रियल म्याड्रिड दोस्रो हाफ आक्रमक खेल्यो । रियलले दुवै गोल दोस्रो हाफमा नै गर्यो ।
पहिलो हाफमा बार्सिलोनाका तीन प्रहारमा रियलका गोलकिपर थिबाउट कोर्टुवाले शानदार बचाउ गरेका थिए । उनले बार्सिलोनाका कप्तान लिओनल मेस्सीका दुई प्रहार र अर्थुरको एक प्रहारमा बचाउ गरेका थिए ।
खेलको १६औं मिनेटमा रियलका करिम बेन्जेमाले पनि गोल गर्ने सुन्दर अवसर खेर फालेका थिए ।
तर, दोस्रो हाफमा घरेलु टोली रियलले शानदार प्रदर्शन गर्दै नतिजा पनि आफ्नो पक्षमा लिन सफल भयो । ५६औं मिनेटमा इस्कोको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले उत्कृष्ट बचाउ गरेका थिए ।
रियल म्याड्रिडले ६२औं मिनेटमा पुनः अग्रता लिनबाट चुक्यो । इस्कोकै हेडरमा गोलरक्षक बिट भएपनि डिफेन्डर जेरार्ड पिकले गोललाइनबाट बचाएका थिए ।
लगातार दुई आक्रमण विफल भएको रियलले ७१औं मिनेटमा अग्रता लिन सफल भयो । जुनियरले टोनी क्रुसको पासमा गोल गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए ।
इन्ज्युरी समयमा सब्सिच्युट मारियानो डियाजले मैदान छिरेको पहिलो मिनेटमा गोल गर्दै रियललाई २-० को जित दिलाए । दोस्रो हाफमा बार्सिलोनाले गतिलो आक्रमण बुन्न सकेन ।










प्रतिक्रिया राख्नुहोस्