तपाईँ सुन्दै हुनुहुन्छः

शनिबारदेखि सुकुटे महोत्सव सुरु हुँदै, दुलही झै श्रृंगारियो सुकुटेलाई

सिन्धुपाल्चोक । भोलिबाट सुरु हुने सुकुटे महोत्सव उद्घाटन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सिन्धुपाल्चोकको सुकुटे आइपुग्नु भएको छ ।

उहाँ आज सुकुटेस्थित भोटेकोसी बीच रिसोर्टमा बिश्राम गरिने आयोजकले जनाएको छ । भोलि महोत्सवको उद्घाटनपछि उहाँ राजधानी फर्किनु हुने कार्यक्रम रहेको छ ।

यसअघि पनि मुडफ्रेस गर्न अध्यक्ष प्रचण्ड सुकुटे आउने गर्नुहुन्थ्यो । तर यसपटक भने उहाँ भ्रमण वर्ष–२०२० को अवसरमा सिन्धु पर्यटन संघद्वारा आयोजित प्रथम सुकुटे महोत्सवको उद्घाटन गर्नका लागि आउनु भएको हो ।

यस्तो छ सुकुटे महोत्सवको रौनकता
प्राकृतिक छटाले भरिपूर्ण सुकुटेलाई रंगीचंगी गरी श्रृंगारिएपछि यतिखेर सिन्धुपाल्चोकको पर्यटकीयस्थल सुकुटे बेहुली झैं देखिन थालेको छ ।

भोलि फागुन १७ गतेबाट हुने सुकुटे महोत्सवलाई लक्षित गर्दै बिभिन्न ध्वजापटका र तोरणले सुकुटेलाई सझाउन थालेपछि यसको सौन्दर्यतामा थप निखारता आएको हो ।

सहासिक जलयात्राका लागि विश्वको सातौं स्थानमा पर्ने भोटेकोसीको किनारमा अवस्थित सुकुटे पछिल्लो पटक पर्यटकहरुका लागि पहिलो गन्तव्य बन्दै आएको छ ।

प्रत्येक साता तीन हजारभन्दा बढी पर्यटकहरु सुकुटे आउने गरेको तथ्याँक छ । राजधानी काठमाडौंबाट जम्मा ६४ किलोमिटरको दुरीमा रहेको सुकुटेलाई पर्यटकीय हब बनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी र सुनकोसी गाउँपालिकाको बीचमा रहेको सुकुटे महोत्सवको रौनक सहासिक जलयात्रामा मात्र सीमित रहने छैन्, सँगैको कदमबास, लामाचौरबाट प्याराग्लाइडिङ्को प्रबन्ध पनि आयोजकले जुराएको छ भने स्टलमा स्थानीय उत्पादन लगायतको सामाग्री प्रदर्शन गरिने बताईएको छ ।

सुकुटेस्थित त्रिकोणात्म बगरमा हुने यो महोत्वसव अवलोकनका लागि महोत्सव स्थानसम्म जानका लागि बोटिङको व्यवस्था गरिएको छ भने महोत्सवमा बिभिन्न जातजातिको कला, संस्कृति, झाँकी र गीत संगितको प्रस्तुती रहने साँस्कृतिक उपसमितिका संयोजक एवम् संगितकर्मी चेतन सापकोटाले बताउनुभयो ।

महोत्सव अवधिभर कम्तिमा २० हजार पर्यटक भित्र्याउने र पाँच करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ ।

पर्यटकहरुलाई थप आकर्षण गर्न प्रत्येक होटल रिसोर्टले ३० प्रतिशत छुट दिईने आयोजक सिन्धु पर्यटन संघका अध्यक्ष नारायकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुडफ्रेस गर्न पटकपटक सुकुटे आउने जाने गर्न थाल्नु भएपछि सुकुटे एकाएक चर्चामा आएको हो । सुकुटे महोत्सवको उद्घाटन पनि अध्यक्ष प्रचण्डबाट हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button