गर्भपतन सेवा अस्थायी साधन बन्दै
डोटी-निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन थालेको छ । यहाँका १८ स्वास्थ्य सस्थाले आइपास नेपाल र सामुदायिक विकास मञ्च (सिडीएफ) संयुक्त सहयोगमा सो सेवा प्रदान गर्दै आएका छन् । गर्भपतन सेवा निःशुल्क भएपछि सेवा लिनेको सङ्ख्या वृद्धि भएकोे केआइसिंह गाउँपालिका–४ दुर्गामाडौँ स्वास्थ्य चौकीका डा राजु गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्थायी साधन प्रयोग गर्नुको विकल्पमा गर्भपतनका लागि स्वास्थ्य संस्था धाउन थालेका छन् । अस्थायी साधनको प्रयोग नगरी शारीरिक सम्पर्क गर्ने र गर्भपतन गराउन आउनेको सङ्ख्या बढ्ने गरेको दुर्गामाडौँ स्वास्थ्य चौकीका अनमी गीता भट्टले बताउनुभयो ।
यहाँका स्वास्थ्य चौकीको तत्थ्याङ्कअनुसार एकै महिलाले वर्षमा तीनदेखि चारपटकसम्म गर्भपतन गराउन आउने गरेका छन् । विसं २०७३ माघबाट सो चौकीमा शुरु गरिएको सो सेवा हालसम्म २५३ ले लिएका छन् ।
ती मध्ये नौ किशोरी रहेको अनमी भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीकहाँ मात्रै गर्भपतन गराउनेको सङ्ख्या दिनानुदिन बढिरहेको छ, गर्भपतन सेवा अस्थायी साधनजस्तै बनेको छ ।” जिल्ला अस्पतालले यो वर्ष ३५० ले सुरक्षित गर्भपतन सेवा लिएको जनाएको छ ।
ती मध्ये १२ भन्दा वढीले दुईदेखि तीनपटकसम्म सेवा लिएकोे तथ्याङ्कमा उल्लेख छ । सिडीएफका कार्यक्रम अधिकृत दीपा सिंहले जिल्लामा निःशुल्क तथा सुरक्षित गर्भपतन सेवाका लागि आफ्नो संस्थाले पहल चालिरहेको बताउनुभयो ।
जिल्ला अस्पतालसहित यहाँका गड्सेरा, दुर्गामाडौँ, चवराचौतारा, छतिवन, कपल्लेकी, मुड्भारा, सरस्वतीनगर, सानागाउँ, पोखरी, मौवानगरदह, दौड, लानाकेदारेश्वर, तिखा, लडागाडा, तिखातर, भूमिराजमाडौँ तथा बन्लेग स्वास्थ्य चौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु गरेको छ








प्रतिक्रिया राख्नुहोस्