पर्वतमा संस्थागत सुत्केरी गराउने बढ्दै
पर्वत-पर्वतमा संस्थागत सुत्केरी अर्थात अस्पतालमा पुगेर हुने सुत्केरीको दर बढेको छ । नेपाल सरकारले अस्पतालमै पुगेर सुत्केरी हुन महिलाहरुलाई प्ररित गर्न थालेपछि चालु वर्ष संस्थागत सुत्केरी हुने बढेका हुन् । स्थानीय सरकार र स्वास्थ्य संस्थाहरुको उत्प्रेरणाले पनि संस्थागत सुत्केरी कार्यक्रमलाई बल पुगेको छ ।
स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रविण भण्डारीका अनुसार चालु वर्ष पर्वत अस्पताल सहित अन्य ं२६ वटा बर्थिङ सेन्टरमा ३६५ जना महिलाहरुले स्वास्थ्य संस्थामा पुगेर सुत्केरी सेवा लिएका थिए । घरमै सुत्केरी भएकाहरुको तथ्यांक कार्यालय संग छैन । तर, स्वास्थ्य संस्थामा आएर नियमित चार पटक गर्भ जाँच गरेका सबै महिला स्वास्थ्य संस्थामै आएर सुत्केरी भएको भण्डारीले जानकारी दिनुभयो गर्भवती भएदेखि चार पटक गर्भजाँच, आईरन र क्यालसियम चक्की निशुल्क वितरण, निशुल्क परामर्श सेवा, पोषणको बारेमा जानकारी दिने लगायतका सेवा स्वास्थ्य संस्थाहरुमा उपलब्ध छ ।
स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेलाई २८ सय भत्ता सहित न्यानो कपडा समेत वितरण गरिन्छ । स्थानीय सरकारहरुले संस्थागत सुत्केरी सेवालाई प्रोत्साहन गर्न संस्थागत सुत्केरीयुक्त वडा घोषणा, पोषण सुधार कार्यक्रम, भत्ता वितरण लगायतका कार्यक्रम चलाईरहेका छन् ।
जिल्लाको महाशिला गाउँपालिकामा सुत्केरीको स्वास्थ्यलाई मध्यनजर गर्दै सुत्केरी संग अध्यक्ष कार्यक्रम सञ्चालन गरिएको छ । यस कार्यक्रम अन्तर्गत गाउँपालिकाका अध्यक्ष सुत्केरी भएको ७ दिनभित्र भेटेर एउटा कुखुराको भाले र एकमाना घिउ दिने कार्यक्रम चलिरहेको छ ।
मोदी गाउँपालिकामा पनि सुत्केरी संग उपाध्यक्ष कार्यक्रम चलाईएको छ । गर्भवती भएदेखि नै सुत्केरीको अवस्थाका बारेमा गाउँपालिकाले ध्यान दिने र आवश्यक सहयोग गर्ने गरिएको उपाध्यक्ष सेती महतले जानकारी दिनुभयो ।
विहादी गाउँपालिकालाई शुन्य होम डेलीभरि गाउँ घोषणा गर्ने अभियान चलिरहेको छ । स्वास्थ्य संस्थाहरुलाई वर्थिङ सेण्टर घोषणा गरि घरमा हुने सुत्केरी दरलाई घटाउने प्रयास गरिएको गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले जानकारी दिनुभयो । संस्थागत सुत्केरी सेवा प्रभावकारी हुँदै गएपछि बाल र मातृ मृत्युदर घटेको स्वास्थ्यकर्मीहरुको दाबी छ ।








प्रतिक्रिया राख्नुहोस्