पन्चदेवल विनायक नगरपालिका २१ दिन पछि खुल्यो

अछाम । माघ २० गतेदेखि बन्द रहेको अछामको पञ्चदेवल विनायक नगरपालिका २१ दिनपछि खुलेको छ । नगरपालिकाका वडा नम्बर २ का अध्यक्ष पदम बहादुर धामीको हत्या भएको भन्दै दोषीलाई पत्ता लगाई कारबाही अघि नबढाएसम्म नगरपालिका र सम्पूर्ण वडा बन्द राख्ने निर्णय गरी बन्द गरिएको थियो ।
हत्यारा पत्ता नलागेको र अनुसन्धान जारी रहेको अवस्थामा नगरपालिका र वडा कार्यालय खोल्ने निर्णय गरिएको नगर प्रमुख देवराज देवकोटाले जानकारी दिनुभयो ।
पन्चदेवल विनायक नगरपालिका नगरकार्यपालिकाको बैठकले नगरपालिका र वडा कार्यालयहरु ख्ुल्ला गर्ने निर्णय गरेको हो ।
पन्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख देवराज देवकोटाको अध्यक्षतामा भएको बैठकले गत माघ २० गते पन्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष स्व.पदमबहादुर धामीको हत्या भएको आजसम्म पनि हत्यारा पत्ता नलागेको हुँदा सो घटना सम्बन्धमा दुःख व्यक्त गरिएको छ ।
बैठकले उक्त घटनाको सत्य तथ्य छानविन गरी चाँडो भन्दा चाँडो दोषीलाई पहिचान गरी सम्बन्धीत निकायमा कडाभन्दा कडा कार्वाहीको माग गर्ने, गत माघ २३ गतेको कार्यपालिकाको बैठकमा नगरपालिका र वडा कार्यालय बन्द गर्ने निर्णय भएबमोजिम लामो समयसम्म सेवाग्राहीहरु मर्कामा परेकोले नगरपालिका र वडा कार्यालयको सेवा सुचारु गर्ने लगायतका निर्णय गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्