भ्रष्टाचार न्युनीकरण तथा काममा हुने ढिला सुस्ती अन्त्य गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशमा बढिरहेको भ्रष्टाचार, सरकारको काम, बिकास निर्माणमा भईरहेका ढिलासुस्ती लगायतका विषयमा सदन मार्फत सरकारको ध्यानाकषर्ण गराउनु भएको छ ।
बैठकमा नेकपाका सांसद जनार्दन शर्माले सरकारले नेपाल ट्रष्टको जग्गा भाडाका बिषयमा भर्खरै जारी गरेको स्वेतपत्रमा आफु पदमा नरहेको समयमा भएको काममा आफ्नो नाम लेखेको भन्दैै त्यो स्वेतपत्र नभई अस्वेत पत्र भएको बताउनुभयो ।
उहाँले संसदको राज्यव्यवस्था समितिमा रहेर आफुले संविधान अनुकुल कानुन बनाउनु पर्नेे, भ्रष्टाचार मुक्त सरकार हुनुपर्छ, बिकास निर्माणका काम पारदर्शीरुपमा छिटो हुनुपर्छ, राष्ट्रियता बलियो बनाउनुपर्छ भनेर लागि परेकै कारण स्वेतपत्रको नाममा आफुलाई मुछ्न खोजेको होकी भनी प्रश्न समेत गर्नुभयो ।
सांसद अतहरकमाल मुसलमानले प्रधानमन्त्रीले ५० अर्व भन्दा माथिका आयोजनाहरु पनि विना प्रतिस्पर्दा ठेक्का दिइदैन भनेर बोले पनि त्यसको बिपरित सरकारबाट २५ अर्व भन्दामाथिका ठेक्का प्रत्यक्ष वार्ताबाट दिन सकिने व्यबस्थासहित विधेयक ल्याइएको भन्दै त्यसको बिरोध गर्नुभयो ।
सांसद महेन्द्रराय यादवले मधेशको हुलाकी राजमार्गलाई सरकारले राष्ट्रिय गौरबको योजनाको रुपमा नलिदा पर्याप्त बजेट विनियोजन हुन नसक्दा समयमा काम सम्पन्न हुन नसकेको भन्दै सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसद दुर्गा पौडेलले हालै चर्चामा आएको प्रिन्टिङ प्रेस खरिद प्रकरणसँग जोडिएको पूर्व सञ्चारमन्त्रीको अडियो सुन्दा एक्लैले गर्न नसक्ने भएकाले पर्दा पछाडी कोको छन् तिनिहरुको पनि खोजी गर्नु पर्न माग गर्नुभयो ।
सांसद भिमसेन दास प्रधानले काठमाडौंको मुटुमा रहेको टुडीखेल बिभिन्न व्यवसाय र विभिन्न संस्थाको अतिक्रमणको चपेटामा परेको भन्दै टुडीखेल जोगाउन सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसदहरु महोम्मद स्तियाक राई, प्रेम सुवाल, पदम गिरी, वृजेश कुमार गुप्त, पुष्पा भुषाल लगायतले बैठकको बिशेष समयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्