तपाईँ सुन्दै हुनुहुन्छः

स्व अधिकारीको पूर्णकदको शालिक अनावरण

पोखरा। अघिल्लो वर्ष फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पूर्णकदको शालिक आज अनावरण गरिएको छ ।

पोखरा महानगरपालिका–१८ जामुनाबोटमा राष्ट्रिय विभूति तथा शहीद उद्यान व्यवस्थापन समितिद्वारा निर्मित स्व अधिकारीको शालिक गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमका बीच अनावरण गर्नुभयो । उद्यान परिसरमा गण्डकी प्रदेश सरकारले शालिकसहितका संरचना निर्माणका लागि रु १५ लाख उपलब्ध गराएको हो । कार्यक्रममा मुख्यमन्त्री गुरुङले समृद्धि र विकासका लागि अधिकारीले देखाउनुभएको बाटो सबैका लागि अनुकरणीय भएको बताउनुभयो ।

उहाँका अधुरा सपनालाई साकार पार्नु हामी सबैको साझा कर्तव्य भएको बताउँदै उहाँले विकासप्रेमी नेताका रूपमा अधिकारीको स्मरण गर्नुभयो । जनप्रतिनिधि जनता र मुलुकका पक्षमा क्रियाशील हुनुपर्नेमा जोड दिँदै उहाँले चुनावमा गरेका प्रतिबद्धतालाई आत्मसात गर्नुपर्ने बताउनुभयो ।

संविधानको संशोधन राष्ट्रिय आवश्यकताका आधारमा हुनुपर्ने बताउँदै मुख्यमन्त्री गुरुङले व्यक्तिगत आवश्यकताका आधारमा संशोधन गर्न नहुने धारणा राख्नुभयो । सांसद खगराज अधिकारीले स्व अधिकारीका सपनालाई पुरा गर्न अविचलितरूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले स्व अधिकारीले देखाएको बाटोलाई आत्मसात गर्न सके मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले अधिकारीका योगदानलाई जीवन्त राख्नुपर्नेमा जोड दिनुभयो । पोखरालाई व्यवस्थित बनाउन चोकचोकमा रहेको शालिकलाई यही शहीद उद्यानमा ल्याइने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

महानगरपालिका–१८ का वडाध्यक्ष एवं राष्ट्रिय विभूति तथा शहीद उद्यान व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव लक्ष्मण तिमिल्सिनाले उद्यान पोखराको पर्यटन प्रवद्र्धनमा सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button