तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ मोदी–लेखनाथ हाईटेन्सन लाईनमा अवरोध

पर्वत -राष्ट्रिय प्राथमिकता प्राप्त नयाँ मोदी–लेखनाथ प्रसारण लाईन विस्तारको काम रोकिएको छ । पर्वतको मोदी गाउँपालिका– १ शेराबेशीका बासिन्दाको अवरोधले प्रसारण लाईनको काम रोकिएको हो । विगत ६ महिनादेखि प्रसारण लाईनको काम अगाडी बढेको छैन ।

देउपूरमा सबस्टेशन निर्माणको काम सकिएपनि स्थानीयको अवरोधकै कारण पर्वतमा निर्माणको काम अधुरो रहेको हो । शेराबेशीका बासिन्दाकै अवरोधले टावर नम्बर ११ , १२ र १३ निर्माणको काम रोकिएको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिनुभयो । उक्त आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना हो ।

स्थानीयले सिंगो बस्ती, विद्यालय र खेतीयोग्य जमिनमा असर हुने भएपछि आयोजनाको काम रोक्न बाध्य भएको बताएका छन् । १२० केभिए प्रसारण लाईन विस्तार गर्न थालिएको प्रभावित क्षेत्रमा १५ घरधुरी परिवारको वस्ती छ ।

लाईनमुनी नै नवज्योती थम मावि र खेतीयोग्य जमिन समेत भएकाले काम रोक्न बाध्य भएको स्थानीय तुलक अधिकारीले बताउनुभयो । आयोजना पक्ष स्थानीय संग सल्लाह नगरि भाग्दै आएको अधिकारीले दाबी गर्नुभयो ।

पर्वत भएर बग्ने मोदीखोला र कास्कीमा बग्ने सेतीनदी र मर्दीखोलामा बन्ने बिद्युत आयोजनाहरुबाट उत्पादित बिद्युतलाई पोखरास्थित सवस्टेशनबाट राष्ट्रिय प्रसारणलाईनमा जोड्न नयाँ मोदी लेखनाथ प्रसारण लाईन निर्माण भैरहेको छ ।

यो राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना हो । स्थानीयले सहज वातावरण बनाईदिन मोदी गाउँपालिका, जिल्ला प्रसासन कार्यालय र नेपाल सरकारका उर्जा मन्त्री समेतलाई गुहार्दा पनि आयोजना पक्षले प्रसारण लाईन बिस्तारको मोडालिटी परिवर्तन नगरेकोमा शेराबेसीका बासिन्दा निराश छन् ।

नवज्योती थम माविका प्रधानाध्यापक मीनाकुमारी गुरुङले प्रसारण लाईनले विद्यालयमा प्रत्यक्ष गर्ने दाबी गर्नुभयो । विद्युत लाईनमुनी पर्ने जग्गामा भौतिक संरचना निर्माण गर्न नमिल्ने भएपनि विद्यालय नै लाईनमुनी परेको गुरुङले बताउनुभयो ।

मोदी गाउँपालिका २ देउपुर देखि कास्कीको पोखरा महानगरपालिका लेखनाथ सम्म निर्माण हुने प्रसारण लाईन ४२ किलोमिटर लामो छ । प्रसारण लाईनमा १ सय ३८ वटा टावर रहने छन । त्यस मध्ये शेराबँेसीका ३ वटा टावर स्थानान्तरण गरेर तल वा माथिबाट लानुपर्ने माग गरिएको कार्यवाहक वडाध्यक्ष भुलवहादुर पौडेलले बताउनुभयो ।

नयाँ मोदी– लेखनाथ प्रसारण लाईनका आयोजना प्रमुख रोशन अग्रवालले स्थानीय संग सहमती गरेरै आफुहरु काम गर्ने पक्षमा रहेको बताउनुभयो । लाईनले स्थानीयलाई कुनै असर नपर्ने अवगत गराउँदा पनि नबुझेपछि आफुहरुले काम गर्ने वातावरण नबनेको अग्रवालले जानकारी दिनुभएको छ । अहिले डिजाइन भएको स्थान भन्दा माथिबाट लैजादा भीर र घर पर्ने र तलबाट लैजाँदा मोटरेबल पुल र झोलुङ्गे पुलका कारण क्लियरिङ्ग एरिया नपुग्ने अग्रवालको दाबी छ ।

भारतीय एक्जिम बैंकको सहयोग र नेपाल सरकारको समेत लगानीमा २ अर्ब २५ करोडको लागतमा निर्माण हुने प्रसारण लाईन डेढ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । आगामी जुन सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएपछि कोरुङ्गामा सवस्टेशन निर्माणको काम पुरा हुँदैछ ।

प्रसारण लाईन बनेपछि देउपुर स्थित सबस्टेशनमा मोदीखोला र आसपासका नदीबाट उत्पादित बिद्युत जोडिनेछन भने कास्कीको लहाचोक सबस्टेशनमा सेतीनदी र मर्दीखोलाबाट उत्पादित बिद्युत जोडिने छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button