प्रतिनिधीसभा बैठक :जातीय बिभेद गर्ने घरधनीलाई कारवाही गर्न माग

काठमाडौँ । प्रतिनिधीसभाको आजको बैठकमा सांसदहरुले भ्रष्टाचारका कसुरमा छानबिन समिती नै गठन गरेर भ्रष्टाचारमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन, लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको सीमा समस्या समाधान गर्न सरकारको ध्यानाकृष्ट गराउनुभएको छ ।
सांसदहरुले पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको ७० करोड कमिसन मागेको भिडियो संवादका बिषयमा प्रधानमन्त्रीले संसदलाई स्पष्ट पानुपर्ने माग गर्नुभयो ।
बैठकमा सांसदहरुले जातिपातिका आधारमा अझै पनि दलितले डेरा पाउन कठिन भईरहको भन्दै त्यस्तो जातीय बिभेद गर्ने घरधनीलाई कारवाही गर्न, काठमाडौंको जाम र गाडी भित्रको जामका बारेमा ध्यान दिन आग्रह गर्नुभयो ।
सांसदहरुले फागुन १३ गतेको प्रतिनिधीसभाको बैठक सुरु भईसकेर पनि गणपुरक संख्या नपुगी स्थगित गर्नुपरेको सन्दर्भ उल्लेख गर्दै संसदमा आउने तर नबस्ने सांसदको रेकर्ड राख्न माग गर्नुभयो ।
बैठकमा सभामुखसँग बिशेष समय लिएर बोल्दै पूर्ब प्रधानमन्त्री एवं सांसद डा. बाबुराम भट्टराईले आफ्नो नेतृत्वको सरकारले त्यतिबेला मातातीर्थलगायतका क्षेत्रमा मोहीलाई जग्गा दिएको हो, त्यो नियमानुसार दिईएको हो भनी प्रष्ट पार्नुभयो ।
उहाँले अहिले भने सरकारले खोस्दा उनीहरुमा अन्यौल र चिन्ता रहेकोले त्यसतर्फ सरकार स्पष्ट हुनुपर्ने बताउनुभयो ।
पूर्व प्रधानमन्त्री डा. भट्टराईले संविधान संशोधन गरौं तर त्यो कसैलाई प्रधानमन्त्री बनाउन मात्र नभई जनताबाट निर्वाचित कार्यकारी बनाउनका लागि पनि गरौं भनी आग्रह गर्नुभयो । प्रतिनिधी सभाको बैठक अहिले जारी छ ।








प्रतिक्रिया राख्नुहोस्