तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको मोदीमा योजना अनुगमनको नयाँ अभ्यास

पर्वत । पर्वतको मोदी गाउँपालिकामा असारमा मात्रै योजनाहरुको अनुगमन गर्ने प्रचलन तोड्दै फागुनमै योजनाहरुको अनुगमन शुरु भएको छ ।

असारमा विकास गर्ने र असार महिनामा अनुगमन गरी योजनाहरु फरफारक गर्ने चलन अझै नहटेको समयमा मोदीमा भने नयाँ अभ्यास शुरु भएको हो ।

योजनाहरुको अनुगमनका लागि गाउँपालिका तथा नगरपालिकाहरुमा उपाध्यक्षलाई अनुगमन समितिको संयोजक कानूनले नै तोकेको छ ।उपाध्यक्षको अध्यक्षतामा हुने अनुगमन समितिले अहिले दोस्रो र तेस्रो चौमासिकबाट नै अनुगमन कार्य शुरुवात गरेका छन ।

मोदीमा दोस्रो चौमासिकबाट नै अनुगमन कार्यको शुरुवात भएको छ । अनुगमन समितिका संयोजक गाउँपालिकाका उपाध्यक्ष सेती महतले प्राविधिक सहितको टोली लिएर अनुगमन शुरु गर्नुभएको छ । महतले निर्माण कार्य सम्पन्न भएका योजनाहरुको फरफारकका लागि अनुगमन शुरु भएको जानकारी दिनुभयो ।

गाउँपालिबाट चालु आर्थिक बर्षमा निर्माण हुने योजना मध्ये निर्माणकै चरणमा रहेका योजनाहरुको समेत अनुगमन गरिएको छ ।

गाउँपालिकाबाट विनियोजित योजनाहरु मध्ये सडक, सिञ्चाई र पूर्वाधार तर्फका योजनाहरुको अनुगमन कार्य भईरहेको गाउँपालकाका उपाध्यक्ष महतले जानकारी दिनुभयो । महतका अनुसार प्राविधिक मूल्यांकन बमोजीम फिल्डमा काम भए नभएको विषयमा प्राविधिक सहित अनुगमन गरिएको छ । अबबाट कागजमा मात्र काम भएको देखिने दिनको अव अन्त्य हुने बताउँदै महतले योजनाको सामाजिक प्रभावको विषयमा समेत अनुगमन भइरहेको बताउनुभयो ।

निर्माण कार्य सकिएका योजनाहरुको अन्तिम भुक्तानीको प्रक्रिया शुरु भईसकेको बताउँदै महतले आगामी बैशाख महिनाभित्र सबै योजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी गाउँपालिकाले निर्माण कार्यलाई तिव्र गतिमा अगाडि बढाईरहेको महतले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button