भद्रपुर हुलाक बचत बैंकको पूँजी रु. तीन करोड
भद्रपुर-झापाको चन्द्रगढीमा रहेको हुलाक बचत बैंकको पूँजी हाल रु तीन करोड रहेको छ । सरकारी कर्मचारी तथा सर्वसाधारण नागरिकको सुविधाका लागि झापा जिल्ला हुलाक कार्यालय भद्रपुरद्वारा सञ्चालित हुलाक बचत बैंकमा सरकारी कर्मचारीको रु दुई करोड र अन्यको रु एक करोड गरी रु तीन करोड पूँजी भएको हो । हुलाक कार्यालयकै भुइँतलामा बैंकको काउन्टर छ ।
सर्वसाधारण ग्राहकलाई छ प्रतिशत ब्याज र ज्येष्ठ नागरिकलाई सात प्रतिशत ब्याज उपलब्ध हुने हुलाक बचत बैंक फाँटका इन्चार्ज रामहरि खतिवडाले बताउनुभयो । एक हजार १०० ग्राहक रहेको बैंकमा रु ५०० देखि रु नौ लाखसम्म बचत गर्न सकिनेछ ।
कर्मचारीलाई बिनाधितो रु चार लाख ५० हजार ऋण दिने व्यवस्था गरिएको छ । मासिक तलबबाट कट्टी हुनेगरी कर्मचारीलाई ऋण उपलब्ध गरिएको उहाँले बताउनुभयो । ऋण लिएवापत कर्मचारीले आठ प्रतिशत ब्याज बुझाउनुपर्नेछ । सो ऋण ७२ किस्ता अर्थात् ६ वर्षमा तिरिसक्नुपर्ने नियम छ ।
हुलाक ऐन, २०१९ अन्तर्गत हुलाक बचत बैंक नियमावली, २०३३ अनुसार आर्थिक वर्ष २०३३÷३४ देखि हुलाक बचत बैंकको स्थापना भएको हुलाक कार्यालय प्रमुख दामोदर घिमिरेको भनाइ छ । देशभरका ११७ हुलाक कार्यालयमा उक्त बैंक स्थापना भएको छ । सानो पूँजी एकीकृत गरी देश विकासमा टेवा पु¥याउने उद्देश्यका साथ हुलाक बचत बैंक सञ्चालन गरिएको हो ।
हुलाक सेवा विभागको आर्थिक सेवा तथा टिकट शाखाले देशभरका बैंकसम्बन्धी कार्य हेर्ने गर्दछ । खतिवडाका अनुसार बैंकमा रु एक करोड ६० लाख मुद्दतिमा र रु एक करोड ५२ लाख ऋण लगानी गरेको छ । बैंकले बाल बचतलगायतका खातासमेत सञ्चालनमा ल्याएको उहाँको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्