पार्क बनाउन गाँउपालिकालाई ३३ रोपनि जग्गा
दोलखा । च्यामाका चन्द्रबहादुर फुयाल लगायत १५ जनाको सोचाई आम भन्दा पृथक छ । गाँउको विकासमा स्थानिय सरकार जतिकै स्थानिय नागरिकको पनि दायित्व हुन्छ चन्द्रबहादुरले भन्नुभयो – त्यसैले हामीले ३३ रोपनी जग्गा गाँउपालिकालाई दिएका छौ ।
दोलखा तामाकोशी गाँउपालिका वडा नम्बर ६ च्यामा घोरनागीमा गाँउपालिकाले भ्युटावर, पोखरी र पिकनिक स्र्पोट बनाउने भएपछि च्यामाका चन्द्रबहादुर लगायत १५ जनाले आफ्ना पुर्खा पर्मानन्द फुयालको नामबाट आफुहरुको नाममा आएको उक्त जग्गा गाँउपालिकालाई दिएका हुन ।
स्थानिय सरकारमात्र सबै थोक हैन, चन्द्रबहादुरले भन्नु भयो– गाँउको विकासमा स्थानिय सरकारले योजना बनाएर नेतृत्व गर्छ भने स्थानिय नागरिकले पनि आफुले सक्ने सहयोग गर्नुपर्छ, अनिमात्र विकास सम्भव हुन्छ । कतै स्थानिय सरकारले चासो नदिने र कतै स्थानिय नागरिकले चासो नदिने भएकैले गाँउको विकास नभएको चन्द्रबहादुरको बुझाई छ । हामी गाँउको विकासको लागि स्थानिय सरकारसंग हातेमालो गर्न तयार छौ चन्द्रबहादुरले भन्नुभयो त्यसैले पिकनिक स्र्पोटको लागि जग्गा दिएका हौ ।

गाँउपालिकाको विकास योजनामा स्थानिय नागरिकले चासो दिएर महत्वपूर्ण जग्गा दान गर्नु विकासमा सकारात्मक सहयोग भएको अध्यक्ष इश्वरचन्द्र पोखरेलले बताउनुभयो । स्थानिय नागरिकको सहयोगमा गाँउपालिकाले पर्यटन, कृषि लगायत हरेक क्षेत्रमा महत्वपुर्ण उपलब्धि हासिल गर्न सक्ने अध्यक्ष पोखरेलले बताउनुभयो । तामाकोसी गाँउपालिका वडा नम्बर ६ मसिनाचौर र ऐरामेका स्थानिय कृष्णप्रसाद फुयाल (क), कृष्णप्रसाद फुयाल (ख), मयानाथ फुयाल (क), मयानाथ फुयाल (ख), डम्बर कुमारी फुयाल, भीम प्रसाद शर्मा, दुर्गा बहादुर फुयाल, चन्द्रबहादुर फुयाल, अर्घलाल फुयाल लगायत १५ जनाले गाँउपालिकाको अध्यक्ष इश्वरचन्द्र पोखरेल र उपाध्यक्ष उर्मिला केसीको उपस्थितिमा अमिनले नापजाँच गरेअनुसार ३३ रोपनि जग्गा गाँउपालिकाको नाममा दिएका थिए ।
स्थानियले जग्गा दान गरेकोले अब कालिञ्चोक, शैलुङ, गौरीशङ्कर हिमाल जस्ता आकर्षक स्थलहरुको दृश्यावलोकन गर्न सकिने घोरनागीमा गाँउपालिकाले छिट्टै भ्यूटावर र पोखरी सहितको पिकनिक स्र्पोट बनाउने अध्यक्ष पोखरेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्