पर्वतको फलेवासमा लिफ्ट सिँचाई आयोजना शुरु
पर्वत-पर्वतको फलेवासका ३ वडामा लिफ्ट मार्फत सिँचाईको सुविधा बिस्तार गरिने भएको छ । फलेवासको खानीगाउँ, देविस्थान र मुडिकुवामा लमाएखोलाको पानी तानेर सिँचाईको प्रवन्ध गर्न थालिएको हो । लमाएखोला स्थित बिसेको चापट देखि काईला पन्तीको बगरमा टंकि राखेर पानी तान्ने योजना स्वरुप लिफ्ट प्रविधिको सिँचाई आयोजनाको काम शुरु भएको हो ।
आयोजना शिलन्यास गर्दै नगरप्रमुख शर्माले फलेवास उर्वर भूमी भएर पनि सिँचाईको अभावले बाँझै पल्टिएको बताउँदै अव हिउँदमा खेतवारी बाँझो नहुने बताउनुभयो । राज्यले कृषिमा आधुनिकिकरण, प्रविधिकरण र व्यवसायिककरणको परिकल्पना गरेको बताउँदै शर्माले फलेवासको समृद्धि कृषिबाटै संभव रहेको दाबी गर्नुभयो ।
किसानहरुलाई पर्ने आवश्यक सिँचाई, बजारीकरण, प्रशिक्षण लगायतका कुरामा सहयोग गर्न नगरपालिका तयार रहेको प्रमुख शर्माले बताउनुभयो । फलेवास धान व्लक सञ्चालक समितिको प्रस्तावमा कृषि ज्ञान केन्द्र पर्वत मार्फत कार्यान्वयन हुने गरि बजेटको व्यवस्था गरिएको छ । सिँचाई सुविधाका लागि एक करोड ३१ लाखको डिपिआर बनाएर काम शुरु भएको हो ।
प्रदेश सरकारले बजेटको व्यवस्था गर्ने र अपुग रकम नगरपालिकाले व्यहोर्ने गरि काम शुरु गरिएको धान व्लक सञ्चालक समितिका अध्यक्ष वलराम भुसालले जानकारी दिनुभयो । वर्खामा फलेवास वहृत नहरकै पानी प्रर्याप्त भएपनि हिउँदमा भने कुलोमा पानी आउँदैन । हिउँदका लागि लिफ्ट मार्फत सिँचाई भएपछि किसानलाई राहात हुने भुसालले बताउनुभयो ।
यो आयोजनाले मुडिकुवा, खानीगाउँ र देबिस्थानका करिव ५ हजार जनसंख्या लाभन्वित हुने अनुमान गरिएको फलेवासका प्रवक्ता टिकाराम गौँडेलले बताउनुभयो । कृषि ज्ञान केन्द्रले चालु वर्ष फलेवासको मुडिकुवा, खानीगाउँ, देविस्थान र कुर्घा समेटेर धान व्लक क्षेत्र घोषणा गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्