सभामुखसँग नेपालका लागि कतारका राजदूतको भेट
काठमाडौँ । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत Yousuf Bin Mohammed AI-Hail ले आज शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत युुसुुफले सभामुख सापकोटालाई बधाई दिँदै सफल कार्यकालको शुुभकामना व्यक्त गर्नुभयो ।
सभामुख सापकोटाले ४२ बर्षदेखि नेपाल र कतारबीच मित्रवत सम्बन्ध रहेको स्मरण गर्दै यस्ता भेटले सम्बन्ध थप सुुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भ्रमण वर्ष २०२० मा सहयोग गर्ने कतारको प्रतिबद्धताप्रति धन्यवाद पनि ज्ञापन गर्नुभयो ।
सभामुखले सन् २०२२ मा कतारले आयोजना गर्न लागेको विश्वकप फुुटबलको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले विश्वव्यापी रुपमा देखिएका जलवायु परिवर्तन लगायतका समस्या समाधनका लागि नेपाल र कतारले संयुक्त रुपमा पहलकदमी लिनुुपर्ने बताउनुभयो ।
भेटमा राजदूत युुसुफले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुुटबलको तयारीमा कतारमा कार्यरत नेपाली श्रमिकले ठूलो योगदान गरिरहेको बताउनुुभयो ।
उहाँले नेपाली विमानस्थलमा पार्किङको अभावका कारण कतार एयरलाइन्सले घाटा बेहोर्नुपरेको जानकारी गराउँदै यहाँको एयरपोर्ट सुधारमा सहयोग गर्न कतार तयार रहेको बताउनुभयो ।
राजदूत युसुफले नेपाल र कतारबीच भएको श्रम सम्झौतालाई आवश्यकता अनुसार अद्यावधिक गर्न कतार तत्पर रहेको बताउनुभयो । उहाँले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्