तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिमी वायुको फेरि नेपाल प्रवेश

काठमाडौ । फागुन लागेसँगै विस्तारै गर्मीउन्मुख भएको मौसममा फेरी बदली आएको छ । नेपालको मौसममा फेरि पश्चिमी वायुको प्रभाव सुरु भएको हो । यस वायुका कारण बुधबार रातिदेखि नै पश्चिमी क्षेत्रका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसविद् शान्ति कँडेलले जानकारी दिइन्।
यसको प्रभावले बुधबार रातिदेखि नै नेपालको पश्चिमी क्षेत्रको पहाडी भेगका केही स्थानमा वर्षा तथा हिमाली भेगका एकदुई स्थानमा हिमपात सुरु भइसकेको छ।’

यसैगरी आज (बिहीबार) पनि देशभर बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुनमे सम्भावना रहेको मौसमविद् कँडेलले जानकारी दिइन्। ‘यो भोलि (शुक्रबार)देखि अझ सक्रिय हुने देखिएको छ,’ उनले भनिन्, ‘पश्चिमी पहाडका धेरै स्थान र मध्य तथा पूर्वी पहाडका थोरै स्थानमा वर्षा हुने देखिन्छ।’

उच्च पहाडी तथा हिमाली भेगमा हुने हिमपातको अनुपात पनि क्षेत्रगत आधारमा यस्तै रहने उनको अनुमान छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन ८ गते बिहीबार
दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रही पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ।

राति : देशभर सामान्य बदली रही पश्चिमका केही भूभागमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना देखिन्छ ।

फागुन ९ गते शुक्रबार
दिउँसो : देशभर सामान्यदेखि पूर्णसम्म बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ।

राति : देशभर आंशिकदेखि सामान्यसम्म सामान्य बदली रहने छ। पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना देखिन्छ।

फागुन १० गते शनिबार
दिउँसो : देशभर आंशिकदेखि देखि सामान्यसम्म बदली रही मध्य तथा पूर्वी भूभागका थोरै स्थान र पश्चिमी पहाड का एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ।

राति : पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहने छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button