तपाईँ सुन्दै हुनुहुन्छः

वाणिज्य विभागले बजार अनुगमनलाई तीव्रता दिने

भुवनप्रसाद आचार्य । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिदै दोेब्बर बनाउने भएको छ ।

माघसम्म उपत्यकामा र उपत्यका बाहिरका गरी कुल १ हजार १ सय ६४ वटा फर्महरुको अनुगमन गरेको र गल्तीका आधारमा १ करोड ७ लाख ८२ हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ ।

विभागले परिचालन गरेका ३ सय ५३ वटा अनुगमन टोलीले उपत्यकामा ९ सय ८९ वटा र उपत्यकाबाहिर १ सय ७५ वटा कम्पनीको अनुगमन गरेको विभागले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

बजार अनुगमनको क्रममा विभागले म्याद गुज्रिएका १ करोड ५३ लाख ६६ हजार ९ सय ८८ रुपैयाँ बराबराका वस्तु नष्ट गरेको छ । उपत्यकाभित्र १ करोड ५२ लाख ८४ हजार १ सय ९० रुपैयाँ बराबरको र उपत्यकाबाहिर ८२ हजार ७ सय ९८ रुपैयाँ बराबरको वस्तु नष्ट गरिएको छ ।

यसबीचमा २ वटा मुद्दा दायर र १८ वटा नमूना परीक्षण गरिएको र १४ करोड राजस्व संकलन भएको पनि विभागले जनाएको छ ।

अनुगमनमा दोषी पाइएपछि सनराइज एग्रिकल्चर रिसर्च प्रालि दाङलाई ३ लाख, तनहुँ बीज भण्डारलाई २ लाख जरिवाना गराइएको छ । दुवै कम्पनीविरुद्ध गरिमा धानको बीउ भनी कमसल धानको बीउ आयात गरेर बिक्री गरेकोमा उक्त जरिवाना गराइएको हो ।

त्यस्तै, जमिन बीज भण्डार कपिलवस्तु, घिमिरे एग्रोभेट कपिलवस्तु, लालीगुराँस एग्रोभेट सेन्टर दाङ, स्वर्गद्वारी एग्रि नेपाल दाङ, जनता एग्रोभेट दाङ, मुनाल एग्रोभेट कन्सर्न बाँके, सृजना भेट सेन्टर बर्दिया, शिखा एग्रो सेन्टर बर्दिया, खुसीराम भेटरिनरी सेन्टर बर्दिया, लोहनी एग्रोभेट सेन्टर बर्दिया, आरएच एग्रोभेट कैलाली, किसान एग्रोभेट सेन्टर कैलाली, प्रशान्त एग्रोभेट सेन्टर चितवनलाई प्रतिकम्पनी २ लाख जरिवाना गराइएको छ ।

देशका विभिन्न भागका १६ कम्पनीविरूद्ध गरिमा धानको नाममा कमसल बीउ बेचेको भन्दै विभागले ३२ लाख २० हजार जरिवाना गरेको गरेको हो ।

पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेत्र सुवेदीले पछिल्लो समय बजारमा माक्समा भएको कालोबजारीको अनुगमनलाई तिब्रता दिएको र महंगोमा बिक्रि गरेकोमा काठमाडौको क्षेत्रपाटीका एक व्यापारीलाई एक लाख जरिवाना गरेको पनि जानकारी दिनुभयो ।

हाल बजारमा लसुनको मूल्य अत्यधिक भएकोले मूल्मा अनियमितता हुन नदिन पनि विभागले पहल अघि बढाएको महानिर्देशक सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button