तपाईँ सुन्दै हुनुहुन्छः

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी परिसर ललितपुरमा दर्ता भएको सामूहिक करणीसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी घुस लिएको अभियोगमा तत्कालीन प्रहरी सहायक निरीक्षक उमेश केसीविरुद्ध विशेष अदालतमा आज मुद्दा दर्ता गरेको छ ।

आयोगले प्रहरी सहायक निरीक्षक केसीविरुद्ध ६० लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको जनाएको छ ।

त्यसैगरी, आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी लाभ लिएको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकृत शालिकराम खनाल, चम्पादेवी प्राथमिक विद्यालय ओखलढुङ्गामा कार्यरत तत्कालीन शिक्षक खेटराज बरालविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै आयोगले साझा प्रकाशनमा कार्यरत सहायक चतुर्थ तहका कुवेरप्रसाद उपाध्यायविरुद्ध समेत नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको र पदोन्नति समेत भएको भन्दै आजै मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button