राजस्व संकलन ४९ प्रतिशतले कमी

बैतडी । महाकाली भन्सार कार्यालय, झुलाघाटको राजस्व संकलन ४९.३७ प्रतिशतले कमी आएको छ । कार्यालयको तथ्यांकअनुसार चालू आ.व.को पुससम्ममा रू. २३ लाख ९० हजार राजस्व संकलन भएको छ । यो गत आवको सोही अवधिको तुलनामा रू. २३ लाख ३० हजार ६१० कम हो ।
गत आवको पुससम्ममा कार्यालयले रू. ४७ लाख २० हजार ६१० राजस्व संकलन गरेको थियो । भारतबाट आयात हुने घरायसी उपभोगका सामानमा भन्सार छूट गरिएकाले राजस्व संकलनमा कमी आएको भन्सार प्रमुख रामराजप्रसाद चौरासियाले बताए । उनका अनुसार व्यापारिक प्रयोजनका लागि आयात गरिने सामानको मात्रै भन्सार लगाइने गरिएको छ ।
विगतमा भारतबाट लुगा–कपडा, सिमेन्ट, जस्तापाता लगायत निर्माण सामग्री आउँदा राजस्व बढी देखिने गरेको भएपनि अहिले सबै ठाउँमा सडक पुग्नाले व्यापारीले सीधै तराईबाट सामान खरीद गर्छन, त्यसकारण भन्सारबाट सामान कम आउँने जनाईएको छ । साथै भारतले लागू गरेको वस्तु तथा सेवा शुल्क (जीएसटी) का कारण पनि भन्सारबाट हुने आयात घटेको उनको भनाइ छ । दार्चुला र बैतडी कार्य क्षेत्र रहको महाकाली भन्सार कार्यालयले दार्चुलामा छोटी भन्सार राखेर राजस्व संकलन गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्