प्रधानमन्त्री सँग क्यानेडेली सभामुख भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेको क्यानडाको माथिल्लो सदन सिनेटका सभामुख जर्ज जे फ्युरी नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ ।
त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्री ओली र क्यानडाको सिनेटका सभामुख जर्जबीच दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धका बारेमा छलफल भएको थियो ।
यसैगरी प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीसँग पनि भेटवार्ता गरेको छ । भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले मनाइरहेको भ्रमण वर्ष २०२० लाई क्यानडाको सिनेटका सभामुखको नेपाल भ्रमणबाट नेपालको पर्यटन क्षेत्रको विकासमा सकारात्मक सहयोग पुग्ने र नेपाल भ्रमण गर्नुपर्छ भन्ने सन्देश मिलेको बताउनुभयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले अप्रिलमा हुन लागेको सगरमाथा संवादमा क्यानडाको उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
क्यानडाको सिनेटका सभामुख जर्जले नेपाल र क्यानडाबीच हिमालदेखि पर्यटनसम्मको सम्बन्ध रहेको र जलवायू परिवर्तनले विश्वलाई परिरहेको समस्यामा आफ्नो मुलुक नेपालसँग मिलेर कार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
क्यानडाको सिनेटका सभामुख जर्जले आजै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्