क्यानडाको माथिल्लो सदन सिनेटका सभामुखद्वारा राष्ट्रिय सभा बैठकको अवलोकन

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निमन्त्रणामा क्यानडाको माथिल्लो सदन सिनेटका सभामुख जर्ज जे फ्युरीको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधि मण्डलले राष्ट्रिय सभा बैठकको अवलोकन गरेको छ ।
राष्ट्रिय सभा बैठकको विशेष समयमा सांसदहरुले नेपाल र क्यानडाबीचको सम्बन्ध अझ मजबुत र प्रगाढ हुने बिश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा सांसद दीनानाथ शर्माले नेपाल र क्यानडाबीच दौत्य सम्वन्ध स्थापना भएको ६५बर्ष पुरा भएको र आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ मजबुत हुने बिश्वास व्यक्त गर्नुभयो ।
सांसद शर्माले नेपाल गणतन्त्रात्मक र क्यानडा राजतन्त्रात्मक मुलुक भए पनि दुबै देशको राजनीतिक प्रणालीको मौलिकता र बिशेषता समान रहेको बताउनुभयो ।

नेपाली काँग्रेसका सांसद सुरेन्द्रराज पाण्डेले मिडिया काउन्सिल विधेयकलाई आवश्यक परिमार्जनका साथ संविधानको भावना अनुसार हुने गरी पारित गरेको स्मरण गर्दै संसदमा रहेका अन्य विधेकलाई पनि सहमतिका आधारमा पारित गर्नुपर्नेमा सदनको ध्यानाकर्षण गर्नुभयो ।
सांसद पाण्डेले संवैधानिक निकायले निष्पक्ष ढंगले काम गर्न सक्ने वातावरण सरकारले निर्माण गर्नुपर्ने उल्लेख गर्नुभयो ।
सांसद पाण्डेले चीनमा रहेका नेपाली बिद्यार्थीलाई छिटोभन्दा छिटो नेपाल ल्याउने व्यवस्थाका लागि आग्रह समेत गर्नुभयो ।
सांसद पाण्डेले नेपाल क्यानडाबीचको राजनीतिक प्रणालिमा निकै समानता रहेको उल्लेख गर्नुहुँदै दुई देशबीचको सम्वन्ध आगामी दिनमा अझ मजवुत र प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय जनाता पार्टी राजपाका सांसद रमेशप्रसाद यादवले क्यानडामा संवैधानिक राजतन्त्र भए पनि राजनीतिक प्रणाली नेपालसँग धेरै कुरा मिल्दो जुल्दो रहेको बताउनुभयो ।

सांसद यादवले संविधान संशोधन मार्फत बिभेद र असमानताको अन्त्य हुने गरी सबै जाति, वर्ग र क्षेत्रका अधिकार सुनिश्चित गर्न माग गर्नुभयो ।
सांसद यादवले उखु कृषकको समस्या दीर्घकालिन ढंगले समाधान गरी यसलाई उधारो बाली नभइ नगदे बालिकै रुपमा स्थापित गर्न सरकारसँग आग्रह गर्नुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक आगामी फागुन ५ दिनको १ः०० बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्