स्वास्थ्य शिविरबाट दुई हजार भन्दा बढी नागरिक लाभान्वित

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सञ्चालित मेयर गाउँघर स्वास्थ्य शिविर कार्यक्रमबाट दुई हजार वासिन्दाहरु लाभान्वित भएका छन् ।
भीमदत्त नगरपालिकाको स्थापना दिवसको अवसरमा माघ २ गतेदेखि स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । ब्रह्मदेव खल्लाबाट सुरु गरिएको शिविर नगरपालिकाका विभिन्न वडाका १० स्थानमा सञ्चालन गरिएको हो ।
शिविरबाट दुई हजार ४४ वासिन्दाले स्वास्थ्य सेवा लिएका छन् । यसैगरी ४ सय ३७ जनालाई प्रयोगशाला सेवा र एक सय ५४ जनालाई सुरक्षित मातृत्व परिवार नियोजन सेवा दिइएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो ।
शिविरमा स्वास्थ्य जाँच गरिएका स्थानीयलाई औषधी समेत वितरण गरिएको बताइएको छ । शिविरमा स्वास्थ्य जाँच, परिवार नियोजन सेवा, प्रजनन स्वास्थ्य सेवा, मातृ शिशु, ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण लगायतका सेवा प्रदान गरिएका छन् । नेपालको संवैधानिक व्यवस्था अनुसार भीमदत्त नगरका नागरिकहरुको स्वास्थ्य उपचारको अधिकार ग्यारेन्टीका लागि शिविर सञ्चालन गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्