तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर अस्पतालमा चौबिसै घण्टा डायलेसिस सेवा

चितवन । केन्द्रीय अस्पताल भरतपुर अस्पतालले हेमो डायलासिसको सेवा बिस्तार गरेको छ । दैनिक मृगौलाका बिरामीको चापबढेपछि यसलाई विस्तार गरिएको अस्पतालले जनाएको छ ।

यसअघि दुई सिफ्टमा सेवा सञ्चालनमा हुँदै आएपनि आजबाट चार वटा सिफ्टमा २४सैँ घण्टा सेवा सञ्चालन हुनेगरी सेवा विस्तार गरिएको हो ।

आज अस्पतालले एक कार्यक्रमको आयोजना गरी यसबारे जानकारी दिएको हो । सो अवसरमा बोल्दै अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डाक्टर श्रीराम तिवारीले दैनिक रुपमा विरामी चाप बढ्दै गएको कारण सेवालाई थप प्रभावकारी बनाउन सेवा बिस्तार गरिएको जानकारी दिनुभयो । ‘अहिलेसम्म दुइसिफ्टमा डायालासिस सेवा दिइएको छ, उहांँले भन्नुभयो , वेटिङमा बसेका विरामीले पनि सेवा पाउन भन्ने हाम्रो उद्धेश्य हो ।’ उहांँका अनुसार हाल दुईसिफ्टमा दैनिक २० जना बिरामीले सेवा लिइरहेका छन ।

अझैपनि सेवा लिन ५० जना बिरामी डायालासिसको लागि पालो कुरेर बसेका छन । सीमित जनशक्ति र श्रोतसाधन भएपनि २४सैँ घण्टा सेवा आलोपालो गर्नेगरी सेवा सुचारु गरिने उहांँको भनाई छ ।

कार्यक्रममा बोल्दै हेमोडायलासिस विभागकी प्रमुख सुनिता आचार्यले डायालिसस बिरामीको लागि समय र सेवा अपुग भएकोले सेवा बिस्तार गर्नु परेको बताउनुभयो ।

उहांँका अनुसार १२ वटा मध्ये १० वटा डायालासिस मेशिन सञ्चालनमा रहेको र दुई वटा मेशिन समेत सञ्चालनमा ल्याइनेछ । हाल उक्त बिभागमा मृगौलाका ३० जना पुरुष ३९ जना महिला बिरामीले नियमित सेवा लिइरहेको जानकारी दिनुभयो । बिभागमा दुई जना विशेषज्ञ चिकित्सक , ११ जना नर्स कार्यरत छन भने विभागमा १४ वटा बेड क्षमता रहेको छ ।

हेमोडायलासिस मृगौला फेल भएका बिरामीको लागि रगत र पिसाव सफा गर्ने पद्धति हो । यस्ता विरामीले हप्तामा दुई देखि तीन पटकसम्म हेमोडायालासिस गर्नुपर्ने हुन्छ । एकजनाको एकपटकमा डायालिसस गर्न कम्तीमा चार घण्टा समयावधि लाग्ने आचार्यले बताउनुभयो ।

सरकारको नीति अनुसार प्रति डायलासिस दुई हजार ५०० रुपैयांँ सरकारले उपलब्ध गराउंँदै आएपनि बांँकी बिरामीको डायालासिस खर्च अस्पतालले आन्तरिक स्रोतबाट निःशुल्क रुपमा दिदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button