निर्माणाधिन पुलबारे विकास समितिमा छलफल

काठमाडौँ । संसदको विकास तथा प्रविधि समितिले निर्माणाधिन सडक पुल निर्माणका विषयमा आज सरोकारवाला पक्षसँग छलफल गरेको छ ।
छलफलमा सांसदहरुले पुल निर्माण गर्न शुरु भएको वर्षौसम्म सम्पन्न नहुने, आवश्यकताको आधारमा भन्दा पनि पहुँचका आधारमा आयोजना शुरु गरिदा पुल निर्माणमा समस्या भइरहेको र काममा गुणस्तरियता कायम हुन नसकेको बताउनुभयो ।
सांसदहरुले राणनीतिक सडकहरुको पुल निर्माणका केही प्रगति भएपनि स्थानीय सडकहरुमा समस्या रहेको, संघ प्रदेश र स्थानीय तहले गर्ने कार्यमा अझै प्रभावकारी समन्वय हुन नसकेको तथा निर्माणाधिन पुल परा गर्न र जिर्ण पुल समयका निर्माण गर्न सरकारको ध्यान पुग्न नसकेको समेत बताउनुभयो ।
बैठकमा सडक विभागका महानिर्देशक केशव कुमार शर्माले सडक पुल निर्माणका लागि वर्षेनी आयोजना थपिने तर पूर्व डिजाइन भएका र निर्माणधिन पुलका लागि पर्याप्त वजेट नहुदा काम गर्न कठिन भईरहेको बताउनुभयो ।

उहाँले पुल डिजाइनका लागि पर्याप्त दक्ष जनशक्ति नभएको र पुल निर्माणको चाप वर्षेनी थपिदा काम गर्न कठिन भैरहेको समेत बताउनुभयो ।
बैठकमा गत आर्थिक वर्षदेखि हालसम्म रणनीतिक सडकहरुमा ६४ वटा पुल निर्माण भईसकेको, स्थानीय सडकमा एक सय ४३ वटा, हुलाकी सडकमा ८५ वटा, मदन भण्डारी मार्गमा ६० वटा र मध्यपहाडी लोकमार्गमा ७३ वटा पुल निर्माण कार्य सम्पन्न भएको सडक विभागले जानकारी गराएको छ ।
यस्तै विभाग अन्र्तगत रहेका दुई हजार ९१ वटा पुलहरुमध्ये चार सय २५ वटा पुलको निर्माण कार्य सम्पन्न भएको र १६ सय पुल निर्माणधिन अवस्थामा रहेको जानकारी समेत बैठकमा गराएको छ ।








प्रतिक्रिया राख्नुहोस्