तपाईँ सुन्दै हुनुहुन्छः

१६ लाख फिरौती माग्ने अपहरणकारी पक्राउ

भक्तपुर-भक्तपुरबाट आईतवार दिउँसो अपहरणमा परेकी छ वर्षीया बालिका अपहरण मुक्त भएकी छिन् । भक्तपुरको सूर्यविनायक–५, निकोशेरामा रहेको ग्लोरी इंलिस स्कुलको यूकेजीमा अध्ययनरत ६ वर्षीया बालिका गृष्मा राउत (नाम परिवर्तन) अपहरणमा परेकी हुन् ।

अपहरणमा संलग्नलाई प्रहरीले पाँच घण्टाभित्रै पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी–५ घरभई बोडेमा बस्दै आएका २० वर्षीय आशिष थापा रहेको महानगरीय प्रहरी बृत थिमिले जनाएको छ ।

बालिकालाई दिउँसो निकोसेराबाट अल्फावेट नखुलेको १६२० नं. को मोटरसाईकलमा हालेर लगेको बताइएको छ । विद्यार्थीको आफन्तको रुपमा परिचय दिँदै स्कुल भित्र छिरेका थापाले बालिकालाई उनका बुबाले पठाएको भनेपछि विद्यालयले ‘अभिभावक कार्ड’ विनै गृष्मालाई थापाको जिम्मा लगाएको प्रहरीको भनाई छ ।

बुबाको नाम लिएपछि थापाको मोटरसाइकलमा उनी सजिलै चढेको र थापा गृष्माको नातेदार भएको प्रहरीको भनाई छ ।महानगरीय प्रहरी परसर भक्तपुरका प्रहरी प्रमुख एसपी सविन प्रधानका अनुसार बालिकाले थापालाई आफन्तै भए पनि चिने जस्तो देखिँदैन ।

अपरान्ह दुई वजे घटनाको जानकारी पाउँने बित्तिकै महानगरीय प्रहरी बृत थिमि र महानगरीय प्रहरी अपराध महाशाखाको टोली परिचालन गरिएको थियो । त्यसै क्रममा साँझ अपहरणमा संलग्नलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, अपहरण गरेर बालिकालाई सुर्यविनायक नगरपालिकाको घ्याम्पेडाँडामा हात खुट्टा बाँधेर राखेपछि बालिका रुन थालेपछि नजिकै रहेकाहरुले थाहा पाउँने डरले अपहरणकारी भागेको अनुसन्धानबाट खुलेको छ । जंगलमा अलपत्र अवस्थामा भेटेपछि सर्वसाधारणले बालिकालाई स्कुलसम्म फिर्ता ल्याइएको महानगरीय प्रहरी वृत्त, ठिमीले जनाएको छ ।

अपहरणपछि अपहरणकारीले १६ लाख रुपियाँ माग गरेकोमा सोही रकम लिन भनेर राधेराधेस्थित भाटभटेनीमा बोलाएर पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button