भोजपुरको प्याउलीमा ज्ञान महायज्ञ तथा सांस्कृतिक महोत्सव शुरु

भोजपुर । पुर्वी पहाडी जिल्ला भोजपुरको अरुण गाउँपालिकामा ऐतिहासिक विराट ज्ञान महायज्ञ तथा अरुण सांस्कृतिक महोत्सव शुरु भएको छ । सो ज्ञानमहायज्ञमा हिन्दु, बौद्ध र किराँत गुरुहरुबाट प्रवचन हुने छ ।
संस्कार र संस्कृति जोगाई पहिचान दिन र जिल्लामा भएका मठमन्दिर, गुम्वा तथा शक्तिपीठ जस्ता सम्पदाको संरक्षण गर्ने उदेश्यका साथ माघ १८ देखि माघ २६ गतेसम्म सञ्चालन हुने महायज्ञको प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले शनिबार उद्घाटन गरेसँगै शुरुवात भएको हो ।
सो क्रममा मुख्यमन्त्री राईले यस्ता धार्मिक महोत्सवले सबै जातजाती बीच भाइचाराको भावना जाग्रित गर्ने बताउँदै साँस्कृतिक पाठशाला स्थापनाको लागि प्रदेश सरकारले पनि सहयोग गर्ने बताउनुभयो । मुख्यमन्त्री राईले पाठशाला सञ्चालनको लागि आयोजना गरिएको कार्यक्रमको लक्ष्य पुरा गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
अरूण गाउँपालिकाको केन्द्र प्याउलीमा अतिथि, अनाथ, वृद्धलगायत, सवैको आश्रयथलो बन्न सक्ने बहुउद्देश्यीय भवन निर्माण गरी संस्कार पाठशाला सञ्चालन गर्नेका लागि पनि ज्ञानमहायज्ञ गर्न लागिएको मूल आयोजक समिति सदस्य डिल्ली सापकोटाले बताउनुभयो ।
भोजपुर धार्मिक तथा साँस्कृतिक सम्पदाले सम्पन्न जिल्ला रहेको बताउँदै उहाँले महोत्सवले लोपन्मुख अवस्थामा रहेको स्थानीय लाखे, बालन, साकेला, संगिनी, चण्डिनाँच, सोरठीनाँच, मारूनीजस्ता संस्कृतिको संरक्षण गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
महायज्ञ र महोत्सवबाट भोजपुरमा उल्लेख्य संख्यामा रहेका मठमन्दिर, गुम्वा लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण गर्न चेतना फैलने तथा सहयोग पुग्ने सापकोटाको भनाई छ । महोत्सवमा योग तथा स्वास्थ्य शिविरका अलवा निःशुल्क औषधी समेत वितरण हुनेछ ।
विराट ज्ञानमहायज्ञ मूल समारोह समितिका सदस्य सचिव सोमनाथ कोइरालाले विराट ज्ञानमहायज्ञ तथा अरुण साँस्कृतिक महोत्सवले बालागुरू षडानन्द र महिला अग्रणी योगमाया जस्ता प्रसिद्ध महानुभावहरूको तपस्थलीका रूपमा रहेको ठाउँको प्रचार हुने बताउनुयो ।
उहाँले मौलिक सभ्यता, दर्शन र शिक्षाको प्रचार प्रसारका निम्ति गुरूकूल, बहुउद्देश्यीय आश्रम, संस्कार पाठशाला स्थापना तथा सञ्चालनमा आफूहरूको जोड रहेको स्पष्ट पार्नुभयो ।
कोइरालाले सनातन परम्पराकारूपमा विकसित बौद्ध, किँरात धर्मका मर्म बुझाएर महायज्ञ र महोत्सवमार्फत पुस्तान्तरण गर्न जरुरी रहेको बताउनुभयो ।
महोत्सवले स्थानीय जनताको जीवनसँग प्रत्यक्ष जोडिएका अरूण गाउँपालिकाका पेन्सनगढी, पाताले गुफा, दूरवीन डाँडा, हरेलो डाँडा, वडापोखरीजस्ता पर्यटकीयस्थलहरूको प्रचार समेत हुने आयोजकको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्