ऋषिले आदर्श राजनीति गर्नुभयो : राज्यमन्त्री रावत
सुर्खेत-स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले तत्कालीन नेकपा (एमाले)का नेता एवं पहिलो संविधानसभा निर्वाचन २०६४ का उम्मेदवार ऋषिप्रसाद शर्माको हत्याले कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति पुगेको बताउनुभएको छ ।
ऋषि स्मृति प्रतिष्ठानको वार्षिक साधारणसभालाई शनिबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै उहाँले ऋषिबाट सङ्घर्ष गर्न सिक्नुपर्ने बताउनुभयो ।
सुर्खेत–१ का उम्मेदवार शर्मालाई विसं २०६४ चैत २६ गते पूर्वीसुर्खेतको मैनतडामा आफ्नै अङ्गरक्षकले गोली हानि हत्या गरेका थिए । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले शहीद शर्माले देखाएको बाटोमा अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले ऋषि सुर्खेतका मात्र नभई तत्कालीन भेरी–राप्ती क्षेत्रकै चर्चित नेता भएको बताउनुभयो । ऋषि पत्नी एवं पहिलो संविधानसभा सदस्य कमला शर्माले आफ्नो जीवनसाथी मात्र नभई एउटा स्थापित नेताको अभाव सधैँ खड्किरहने बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष डण्डीप्रसाद शर्माले ऋषिका विचारलाई संस्थागत गर्न जरुरी रहेको बताउनुभयो । प्रतिष्ठानले भेरीगङ्गा नगरपालिका–१० मदानेचौरमा ऋषि स्मृति बाटिका निर्माण गरिरहेको छ । अध्यक्ष शर्माले प्रतिष्ठानअन्तर्गत माक्र्सवाद अध्ययन पुस्तकालय, ऋषि स्मृति स्मारिका प्रकाशन गर्ने योजना सुनाउनुभयो । प्रतिष्ठानले विसं २०६६ देखि ऋषिको जन्मदिन पारेर उहाँलाई सम्झँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्