तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका सबै स्थानीय तहमा हेलिप्याड

पर्वत । गण्डकी प्रदेश सरकारले ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण गर्ने नीति कार्यान्वयनमा ल्याएको छ ।

प्रदेश सरकारले गत वर्षको नीति तथा कार्यक्रममा ‘एक स्थानीय तह एक हेलिप्याड’ कार्यक्रम प्राथमिकतामा राखेको थियो । सडकको सहज पहुँच नभएका दूर्गम स्थान रोजेर हेलिप्याड बनाउने सरकारको योजना रहेको छ । विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धारका लागि प्रदेश सरकारले हेलिप्याड बनाउने कार्यक्रम शुरु गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सरकारको नीति कार्यान्वयनमा आएको जानकारी दिनुभयो । मन्त्री लम्सालका अनुसार म्याग्दी, गोर्खा, मनाङ र मुस्ताङमा हेलिप्याड निर्माण गर्न आर्थिक वर्ष २०७५/७६ को बजेटमा करिब आठ लाख विनियोजन गरेको छ । गतवर्ष हिमाली जिल्लामा काम सम्पन्न भएको र अव पहाडी जिल्लाहरुमा काम शुरु गरिने भएको छ ।

हेलिप्याड निर्माणपछि आकस्मिक बिरामी र दुर्घटनाका घाइतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पु¥याउन तथा पर्यटकीय क्षेत्रमा हेलिकप्टरमार्फत पर्यटकलाई सहजरूपमा आवतजावत गर्न सहयोग पुग्ने छ । चालु आवमा सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्न पर्याप्त बजेट विनियोजन नभए पनि स्थानीय तहहरूसँग छलफल गरी आगामी आवमा यथेष्ट बजेट विनियोजन गरिने लम्सालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button