मनाङद्वारा संकटा तीन शून्यले पराजित
काठमाडौमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजको खेलमा मनाङ मर्स्याङ्दी फुटबल क्लब विजयी भएको छ ।
नवौं चरणको अन्तिम खेल अन्तर्गत मनाङले संकटामाथि ३–० गोलको जीत दर्ता गरेको हो । जीत दर्ता गर्दै मनाङले दोस्रो स्थानको मछिन्द्रसँग अंक बराबरी गरेको छ ।
सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा ४१ औँ मिनेटमा संकटाका अमित तामाङले आत्मघाती गोल गरेपछि मनाङले अग्रता लिएको थियो । त्यसको एक मिनेट भित्र नै मनाङले खेलमा अन्तर २–० मा पुर्यायो । अन्जन विष्टले फेमीको पासमा ४३ औँ मिनेटमा गोल गरे ।
पहिलो हाफमा २–० को अग्रता बनाएको मनाङले दोस्रो हाफमा पनि दबाव कायमै राख्यो । ७१ औं मिनेटमा निशान लिम्बुको गोलमा मनाङले गोल थपेपछि मनाङ सहज जीततर्फ अघि बढेको हो ।
त्यसपछि खेलको ८९ औँ मिनेटमा मनाङका खेलाडीले फल गरेपछि संकटाले फ्रि किक पाएको थियो तर उक्त फ्रिकिकको सदुपयोग गर्न सकेन र मनाङसँग पराजित हुन पुग्यो ।
जितसँगै मनाङ ९ खेलमा १९ अंक जोड्दै शीर्ष तीनमा पुगेको छ । मनाङ र मछिन्द्रको समान १९–१९ अंक छ भने त्रिभुवन आर्मी २० अंकका साथ शीर्ष स्थानमा छ ।
संकटा १२ अंकसहित आठौँ स्थानमा रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्