शहरीकरण र भूउपयोग परिर्वतन सम्बन्धमा नासाको अध्ययन

दोलखा । नासाले नेपाल, भारत र भुटानको हिमालय क्षेत्रमा शहरीकरण र भूउपयोग परिर्वतन तथा जोखिम सम्बन्धमा अध्यन गरिरहेको छ ।
अध्यनको प्रारम्भमा कम जनसंख्या भएको शहर तथा ग्रामीण क्षेत्रमा समेत तिव्र गतिमा शहरीकरण र सडक निर्माण भइरहेको अध्यन टोलीको नेता येल विश्वविद्यालय अमेरीकाका प्रोफेसर भूगोल शास्त्र तथा शहरीकरण विज्ञान विज्ञ डा.केरेन सि.सेटोले बताउनुभयो ।
अध्ययनमा नासाको उद्देश्य शहरीकरण अन्र्तगत सडक र भवन निर्माण तथा हिमालय क्षेत्रमा रहेका जोखिमहरु, त्यसका परिर्वतनलाई स्थानिय दृष्टिकोणले हेर्ने र त्यसरी प्राप्त जानकारीलाई उपग्रहद्वारा भूउपयोग तथा जोखिमको परिर्वतनबारे विगत ३० बर्षदेखि संकलन गरिएको तथ्याङ्कसँग तुलना गर्नु रहेको अध्यन टोलीको नेता डा. सेटोले बताउनुभयो ।
अध्ययनमा येल विश्व बिद्यालय अमेरिकाको डा.केरेन सि.सेटो र डा.मेरेडिथ रेवा, युनिर्भसिटी अफ ब्रिटिस कोलम्बिया विश्वविद्यालय क्यानाडाका मानव शास्त्री डा.मार्क टुरीन र डा.सारा स्नाईडर म्यान सहभागि रहनु भएको छ ।

नासाको यो अध्ययनमा ईसिमोड नेपाल तथा कुमाउ विश्वविद्यालय भारतको समेत संलग्नता रहेको बताईएको छ ।
डा.सेटोको टोलीले नेपालको सबै क्षेत्रमा उपग्रह (स्याटालाईट)मार्फत अध्यन गरिरहेको भएपनि दोलखा भीमेश्वर नगरपालिकाको वडा नम्बर ३ र ६ मा पर्ने चरिकोट बजार र वडा नम्बर १ मा पर्ने सुष्पाक्षमावतीमा स्थलगत अध्यन गरेको छ ।
त्यसैगरी भारत उत्तराखण्डको नैनताल, अलमोडा, चम्पावत र भुटानको केही क्षेत्रमा स्थलगत अध्यन गरिरहेको टोलीमा सहभागी मानवशास्त्री डा.सारा स्नाईडर म्यानले बताउनुभयो ।
अध्ययनको क्रममा हिमालय क्षेत्रमा पर्ने नेपाल, भारत र भुटानको सानो शहर तथा गाँउहरुमा शहरीकरणको क्रम तिव्र देखिएको र यो निक्कै जोखिमयुक्त हुने अध्ययन टोलीको सदस्य डा.मेरेडिथ रेवा बताउनुहुन्छ ।
स्थलगत अध्यनको क्रममा भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउतले शहरीकरणका कारण प्राकृतिक प्रकोपमा देखिएको उच्च जोखिमको विषयमा कार्यपत्र समेत प्रस्तुत गर्नु भएको थियो ।
इन्जिनियर राउतले नासाको अध्यनले शहरीकरणमा जोखिम न्युनिकरणको लागि अपनाउनु पर्ने विधिको जानकारी हुने र त्यसको प्रयोगमा सबैले चासो दिनुपर्ने अवस्था बन्ने बताउनुभयो ।

अध्यनको लागि नासाको स्याटलाईट प्रयोग गरिएको अध्यन टोलीको प्रमुख डा.सेटोले बताउनुभयो । अध्यनमा प्रयोग गरिएको स्याटलाईटले सन् १९७२ देखि नै पृथ्वीको तस्बिर लिईरहेको तर अध्यनमा १९८३ देखिको तस्बिरको मात्र विश्लेषण गरिएको डा.सेटोले बताउनुभयो ।
स्याटलाईटले बर्षमा छ वटासम्म तस्बिर लिने र त्यसैको आधारमा स्थलगत अध्यन समेत गरेर तथ्याङ्कहरुको विश्लेषण गरिने अध्यनमा संलग्न अर्का सदस्य डा. मार्क टुरीनले बताउनुभयो ।
५० लाखभन्दा कम जनसंख्या भएको शहर तथा हिमालय क्षेत्रमा नासाले गरेको यस्तो अध्यन पहिलो भएको र यसले जोखिम मुक्त शहरी विकास योजना तर्जुमा गर्न सरकार र स्थानीय तहलाई सहज हुने अध्यनमा संलग्न टोली नेता डा.सेटोले बताउनुभयो ।
हिमालय क्षेत्रमा स्याटलाईटले सबै ठाँउको चित्र खिच्न नसक्ने तथ्यलाई समेत यो अध्यनले देखाउने र त्यसको समाधानको लागि नयाँ प्रविधि बिकासमा नासालाई समेत यो अध्यनले सहयोग पुग्न सक्ने अध्यन टोलीका सदस्यहरुको अपेक्षा रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्